बर्दघाट, वैशाख २१ – नवलपरासी (सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–१४ स्थित सहित स्मृति सामुदायिक अस्पतालमा छिट्टै हेमोडायलासिस सेवा सुरु हुँदैछ। मिर्गौला पीडितहरूका लागि अत्यावश्यक मानिने यो सेवा धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा प्रारम्भ हुने भएको हो।
धुलिखेल अस्पतालबाट आएको प्राविधिक टोलीले आज अस्पताल परिसरको स्थलगत अवलोकन गर्दै सेवा सुरु गर्न आवश्यक पूर्वाधार, स्रोत र जनशक्तिको अवस्था अध्ययन गरेको छ। टोलीका प्रतिनिधि प्राविधिक राजाराम पराजुलीले धुलिखेल अस्पतालले “सिकाइ साझेदारी”का माध्यमबाट सक्दो प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष डिलबहादुर थापा, निवर्तमान अध्यक्ष निमानन्द न्यौपाने, संस्थापक सल्लाहकार बृहस्पति अधिकारी, अस्पताल व्यवस्थापन समिति सदस्यहरू, स्वास्थ्यकर्मीहरू तथा धुलिखेल अस्पतालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
डायलासिस सेवा सञ्चालन कार्यदलका संयोजक सुक बहादुर गुरुङका अनुसार, “सामुदायिक अस्पताललाई नमुना अस्पतालमा रूपान्तरण गर्ने दीर्घकालीन योजनाअन्तर्गत पहिलो चरणमा हेमोडायलासिस सेवा र OT (अपरेशन थियटर) सहितको बर्थिङ सेन्टर स्थापना गरिँदैछ।”
उनले थपे, “‘१ घर १ हजार’ अभियानमार्फत सामुदायिक सहभागिता बढाई सेवा विस्तारमा आर्थिक तथा नैतिक सहयोग जुटाउने लक्ष्य लिएको छ।”
बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले सेवा सुरु भएपछि मिर्गौला रोगीहरूले उपचारका लागि बुटवल वा काठमाडौंजस्ता टाढा जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे।
उनले भने, “हामी जनतालाई नजिकैबाट सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रतिबद्ध छौं।”
स्थानीय सरकार, अस्पताल प्रशासन, प्राविधिक साझेदार संस्था र समुदायको संयुक्त प्रयासमा सुरु हुन लागेको हेमोडायलासिस सेवा बर्दघाट क्षेत्रका बिरामीहरूका लागि जीवनरक्षक पहल हुने विश्वास गरिएको छ।