बर्दघाट, नवलपरासी
बर्दघाट जेसीजले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान–प्रदान तथा वार्षिक क्यालेन्डर विमोचन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। कार्यक्रम संस्था अध्यक्ष मोहन सापकोटाको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले युवाहरूको संगठित सहभागिता र नेतृत्व विकासमार्फत समाज रूपान्तरणमा सकारात्मक प्रभाव पार्न सकिने बताए। “१८ देखि ४० वर्ष उमेर समूहका युवालाई संगठित गर्दै नेतृत्व क्षमता विकास गरिरहेको बर्दघाट जेसीजजस्तो संस्थासँग नगरपालिकाले सामाजिक कार्यमा सहकार्य गर्न सधैं तयार छ,” श्रेष्ठले भने।
कार्यक्रममा बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति घनश्याम न्यौपाने, बर्दघाट जेसीजका संस्थापक अध्यक्ष राजु न्यौपाने, उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, खानेपानी संस्थाका अध्यक्ष दीपक लम्साल, दाउन्ने देवी मा.वि. व्यवस्थापन समितिका अध्यक्ष रमेश बस्याल, प्रेस क्लब अध्यक्ष कुस्माकर ढकाल, र जिमिरेभार बजार विकास समितिका अध्यक्ष नरेन्द्र बहादुर थापा लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
२०८२ सालको टेवल क्यालेन्डर नगर प्रमुख श्रेष्ठसहित अतिथिहरूले संयुक्त रूपमा विमोचन गरेका थिए।
कार्यक्रमको सञ्चालन महासचिव रबिन शर्मा चापागाईंले गर्नुभएको थियो। समापन मन्तव्यका क्रममा अध्यक्ष सापकोटाले आफ्नो कार्यकालमा बर्दघाट जेसीजको आफ्नै भवन निर्माण गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उक्त लक्ष्यमा सबैको साथ, समर्थन र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।