-रविन शर्मा चापागाई
एकाबिहानै फोन बज्यो , थाहा पाएर थाहा नपाए झैँ गरेर सुतिरहे , कारण थियो हिजो रातीको नाइट ड्युटी / केहि थान सपनाहरु बोकेर आकाशमा उडेको पनि ५ महिना भइ सकेको थियो , केहि जायज सपनाहरु थिए केहि नाजयज अझ भनौं पुरा नहुने सपनाहरु , यो ५ महिनामा केहि जायज सपनाहरु पुरा गर्दै थिए , पुन : फोनको घन्टी बज्यो , नउठीकन सिरानीको छेउमा रहेको फोन रिसिभ गरें , त्यो पनि अर्धचेत अवस्थामा उताबाट आमाको मलिनो स्वर कानमा गुन्जियो , बाबु तेरा बा बिरामी हुनुभो एक्कासी बेहोस भएर ढल्नुभयो , म अताल्लीए र ब्युझिए अर्धचेत अवस्थाबाट अनि आमा माथि प्रश्न तेर्स्याए , आमा कसरी त्यस्तो भयो ? के भएर बेहोस हुनुभयो बा ? आमा बोल्नु भयो , सदा झैँ बिहान घास काट्न गएका बा २ भारी घास काटेर घर आएका थिए , घाँस गोठमा राखेपछी बालाई रिंगटा लागेछ र लड्नु भयो टाउकोमा चोट …… त्यसपश्चात आमा रुन थाल्नु भयो , मैले आमालाई सान्त्वना दिदै भने नरुनुस आमा बा लाइ ठिक हुन्छ , बरु जतिसक्दो छिटो बा लाई अस्पताल लैजानुस , आमाले रुन बन्द गर्नुभयो र मेरो कुरामा सहमती दिनुभयो , र फोन काटियो , मैले सोच्न थाले ति पुराना घटनाहरु मैले साइकल सिक्दै गर्दा लड्दा बाले मलाइ कती छिटो अस्पताल पुर्याउनु भएको थियो , तर आज त्यहि बा बिरामी हुँदा म लाचार भएर यो मरुभुमिमा जोतीइरहेको छु , एक पटक त नेपालि हुनुमा पनि धिक्कार लाग्यो , पुन: सम्हालीए ।
उता आमाले बालाई भरतपुर हस्पिटल लैजानु भएछ , केहि दिन त्यस अस्पतालमा बा लाई राखे पछी बाको स्थिति नाजुक हुदैँ गए पछी चिकित्सकले काठमान्डू लैजान सल्लाह दिएछन् , आमाले पुन फोन गर्नुभो , बाबु बाको स्थिति नाजुक भो त छिट्टै घर आइज , मैले आमालाई हुन्छ भने , परदेशको ठाउँ भन्ने बित्तिकै घर जान कहाँ पाइन्थ्यो र ? तै पनि केहि आशा बोकेर कम्पनि म्यानेजरको कक्षमा गएँ र उसलाई सबै कुरा बताए , उसले बाको मेडिकल रिपोर्ट माग्यो मैले उसलाई दिए उसले १५ दिन छुट्टी पाउने जानकारी गरायो मनमा पिडा भए पनि मुस्कुक्क हासें र घर जाने तयारी गर्न थाले उता आमालाई जानकारी गराए म भोलि १२ बजेको फ्लाइटबाट नेपाल आउदै छु , बालाई काठमाडौं ल्याउने तयारी गर्नुस अनि म पनि त्यति अस्पतालमा आउछु , आमाले हुन्छ भन्नु भो , बा लाइ झन् सकस भएछ छिमेकबाट संगै गएका दाइहरुले एम्बुलेन्स खोजेर काठमाण्डौ लगेछन ।
म काठमाण्डौ आइपुगे र एयरपोर्टबाट आमालाई फोन गरें , आमाले काठमाडौंको बिर अस्पतालको बेड नं १५ मा भएको जानकारी दिनुभो , यसो फेसबुक खोले आज बाको मुख हेर्ने दिन रहेछ सोचे म भाग्यमानी रहेछु आज बाको मुख हेर्ने दिन बा संग भेट हुनेछ , मन खुसि भयो , हतार , हतार ट्याक्सी रिजर्ब गरेर बिर अस्पताल पुगें , आमा बाहिर रुदै हुनुहुन्थ्यो , आमा मलाइ देखेपछी झन् रुन थाल्नु भयो , मैले बुझ्न सकिन र सरासर बाको मुख हेर्न गए बेड नं १५ मा बालाई झक्झकाए बा बोल्नु भएन फेरी बोलाए बा बोल्नु भएन अनि बाको अनुहार छोपेको कपडा बिस्तारै हटाए , बा नबोल्नुको रहस्य पत्ता लाग्यो , बा ले यो संसारबाट बिदा लिई सक्नु भएको रहेछ ।
(लेखक बर्दघाट प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य र बर्दघाट साहित्य समाजका सचिव हुन । )