बुटवल — विदेशी पर्यटकको सम्भावना र पर्यटनबाटै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेश सरकारले ‘घुमौं लुम्बिनी’ अभियान सञ्चालन गर्ने भएको छ । विश्व पर्यटन दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेशको दीर्घकालीन लक्ष्य पूरा गर्न पर्यटन क्षेत्र महत्त्वपूर्ण आधारस्तम्भ भएको बताएका हुन् ।
पर्यटन प्रवर्धन र विदेशी पर्यटकको बसाइ लम्बाउने विशेष योजनासहित सरकारले प्रदेशका १२ वटै जिल्लामा अभियान सञ्चालन गर्ने पनि उनले बताएका छन् । ‘पर्यटन, न्याय र शान्ति’ भन्ने नाराका साथ यस वर्ष पर्यटन दिवस मनाउन थालिएको छ ।
‘पर्यटनबाटै नागरिकलाई स्वरोजगार बनाउन सकिन्छ । त्यसैले नागरिकको जीवनस्तर उठाउने एउटा आधारका रूपमा प्रदेश सरकारले पर्यटन क्षेत्रलाई लिएको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘स्थानीय उत्पादन बढाउने, त्यसमा नागरिकलाई जोड्ने र पर्यटनसँग केन्द्रित गरेर आयआर्जनका वृद्धि गर्दै रोजगारीका नयाँ अवसर सिर्जना गर्न सरकार पूर्ण प्रतिबद्ध छ ।’ त्यही अभियानन्तर्गत ‘घुमौं लुम्बिनी’ कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई १२ जिल्लाका महच्त्वपूर्ण पर्यटकीय स्थलमा पुर्याउन लुम्बिनी पर्यटन सर्किट बनाउनेगरी सरकारले काम थालेको मुख्यमन्त्री आचार्यले बताएका छन् । ‘लुम्बिनी भूगोलमा विविधतायुक्त प्रदेश हो । यहाँ हिमाल, पहाड र तराईको सम्मिश्रण छ,’ उनले भनेका छन्, ‘अन्नको भण्डार मानिएको लुम्बिनी प्रदेशले मिनी नेपालको अनभूति दिएको छ ।’
विश्वका विभिन्न मुलुकबाट घुम्न आउने पर्यटकलाई आर्थिक क्षेत्रसँग जोडेर कृषि क्षेत्रको विकास पनि गर्न सकिने मुख्यमन्त्री आचार्यले बताएका छन् । विभिन्न जातजाति, धर्म, संस्कृति, प्राकृतिक, स्रोतसाधन, जैविक विविधतालगायतका क्षेत्र लुम्बिनीका पर्यटन प्रवर्धनका आधारस्तम्भ भएको उनले बताएका छन् ।
लुम्बिनी प्रदेश सरकारले लुम्बिनीलाई जोडेर प्रदेशका १२ वटै जिल्लामा पर्यटकीय स्थल, धार्मिक सम्पदा तथा निकुञ्जको पर्यटन प्रवर्धन एवं भ्रमण गराउने योजना पनि अघि सारेको छ । लुम्बिनी प्रदेशमा पर्वतीय पर्यटन, साहसिक तथा मनोरञ्जनात्मक पर्यटन, सामाजिक, सांस्कृतिक पर्यटन तथा पर्यापर्यटनको माध्यमबाट संरक्षण, विकास र प्रवर्धन गर्नसक्ने थुप्रै सम्भवना रहेको पनि मुख्यमन्त्री आचार्यले औंल्याएका छन् ।