नवलपुर —रोजगारीको सिलसिलामा पोर्चुगल गएका पूर्वी नवलपरासीको कावासोती १६ डन्डाका एक युवकको मृत्यु भएको छ । २५ वर्षका विजय परियारको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । सन् २०२१ मा श्रम स्वीकृति गरेर क्रोसिया गएका परियार तीन महिनापछि पोर्चुगल छिरेका थिए
चार वर्षसम्म पोर्चुगलको एक कृषि फर्ममा काम गर्दै आएका परियारको उपचारको क्रममा वैशाख ११ गते मृत्युको खबर आएको मृतक परियारका बुबा निमबहादुर परियारले बताए ।
छोराको मृत्युले शोकमग्न भएका परिवारले शव नेपाल ल्याइदिन सरकार र पोर्चुगलमा रहेका नेपाली समाजलाई आग्रह गरेका छन् । ‘छोरो बिरामी थियो भन्ने थाहा थियो, सन्चो हुन्छ चिन्ता नलिनु बुबा भन्थ्यो, ’ उनले भने, ‘बुधबारसम्म फोनमा कुरा गरेको छोरोको बिहीबार मृत्युको खबर आयो । छोराको मुख हेर्न मन छ । जसरी भएपनि शव नेपाल ल्याइदिन सबैले सहयोग गर्नुहुन आग्रह गर्दछु ।’
२५ वर्षको लक्का जवान छोराको मृत्युको खबरले परिवार र पूरा गाउँ नै शोकमा डुबेको छ । अघिल्लो दसैंमा घर आएर तिहारपछि पोर्चुगल फर्किएका थिए । नेपाल आउँदा पनि स्वास्थ्यमा समस्या देखिएपछि जाँच गर्दा फोक्सोमा पानी जमेको र नसा सम्बन्धी समस्या देखिए पनि विदेशमा नै उपचार गर्ने भन्दै गएको बुबा निमबहादुरले बताए ।
कावासोती १५ का वडा अध्यक्ष आनन्द श्रेष्ठले मृतक परियारको शव नेपाल ल्याउनका लागि आवश्यक सहजीकरण गरेको बताए । वडा कार्यालयले नवलपुर सम्पर्क समाज पोर्चुगललाई पत्राचार गरेर आवश्यक कानुनी तथा प्राविधिक सहयोगका लागि पनि आग्रह गरेको छ । नेपालमा स्वास्थ्य जाँच गरेर औषधी लिएर गएका परियार पोर्चुगल पुगेको केही समयपछि बिरामी परेका थिए ।