लुम्बिनीका युवा तथा खेलकुद मन्त्रीमा सन्तोष पाण्डे, तेस्रो पटक मन्त्री बने


लुम्बिनीका युवा तथा खेलकुद मन्त्रीमा सन्तोष पाण्डे, तेस्रो पटक मन्त्री बने
  • लाल मोहर
  • श्रावण १३, २०८२

१२ साउन, बुटवल । लुम्बिनी प्रदेश सरकारमा सन्तोषकुमार पाण्डेले युवा तथा खेलकुदमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष उनले शपथ ग्रहण गरेका हुन्। पाण्डे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मन्त्री नियुक्त भएका हुन्।

शपथ समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लिबहादुर चौधरी, तथा अन्य मन्त्रीहरूको उपस्थिति रहेको थियो। मुख्यमन्त्री आचार्यले आइतबार पाण्डेलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए। यसअघि यो मन्त्रालयको जिम्मेवारी स्वयम् मुख्यमन्त्रीले सम्हालिरहेका थिए।

पाण्डेले यस्तो बेला सरकारमा प्रवेश गरेका छन्, जब उनको दल लोसपा केही समयअघि मात्रै सरकारबाट समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको थियो। तीन सांसद रहेको लोसपाका संसदीय दलका नेता पाण्डेले मन्त्री बनेपछि पार्टीभित्र विवाद चर्किएको छ। संसदीय दलका उपनेता कन्हैया बानियाले पाण्डे नियुक्त हुने विषयमा दलमा कुनै औपचारिक छलफल नभएको र सञ्चारमाध्यमबाट मात्र आफूहरूले जानकारी पाएको गुनासो गरेका छन्।

पाण्डे यसअघि पनि दुईपटक लुम्बिनी प्रदेश सरकारमा मन्त्री भइसकेका छन्। आलोचकहरूले उनलाई ‘सत्तालोलुप नेता’ को रूपमा टिप्पणी गरिरहेका छन्। हालको मन्त्रिमण्डल १२ सदस्यीय बनेको छ, जसमा ५ जना मन्त्री एमाले, ५ जना कांग्रेस, एकजना जसपा र एकजना लोसपाबाट रहेका छन्।