स्थापना दिवसको अवसरमा प्रेस युनियन मुगुद्वारा विरामीलाई फलफूल वितरण


स्थापना दिवसको अवसरमा प्रेस युनियन मुगुद्वारा विरामीलाई फलफूल वितरण

नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा मुगु जिल्ला अस्पतालमा उपचाररत विरामीहरूलाई फलफूल वितरण गरिएको छ।

देशभर विविध कार्यक्रममार्फत स्थापना दिवस मनाइरहँदा, मुगुमा पनि प्रेस युनियनले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालमा उपचारमा रहेका २६ जना विरामीलाई फलफूल वितरण गरेको हो।

फलफूल वितरण कार्यक्रममा प्रेस युनियन मुगुका अध्यक्ष नन्द बहादुर रोकाया, संस्थापक अध्यक्ष विनोद कुमार मल्ल, नेपाल पत्रकार महासङ्घ मुगुका अध्यक्ष अच्युतराज भण्डारी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्ल र जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख दिपेन्द्र शाही सहभागी थिए।

सोही अवसरमा प्रेस युनियनमा आबद्ध पत्रकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण पनि गरिएको थियो। पत्रकारहरूको स्वास्थ्य परीक्षण चिकित्सक अर्जुन भामले गरेका थिए।

फलफूल वितरण र स्वास्थ्य परीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लले यस्ता कार्यक्रमले विरामीलाई मनोबल बढाउने र सान्त्वना प्रदान गर्ने बताए। उनले आफ्नो कार्यकालमा अस्पतालका आधारभूत आवश्यकताहरू जस्तै खानेपानी र घेरबारको समाधानतर्फ काम भइरहेको जानकारी दिए। साथै, आवास गृहको अभाव रहेको भन्दै संघीय, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर बजेटको व्यवस्था गर्न पहल गरिरहेको बताए। उनले पत्रकारहरूलाई पनि आफ्नो कलमद्वारा सरकारलाई जिम्मेवार बनाउन आग्रह गरे।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मुगुका अध्यक्ष अच्युतराज भण्डारीले पत्रकारहरूले सत्य, तथ्य र निष्पक्ष समाचार लेख्नुपर्नेमा जोड दिए।

त्यसैगरी, प्रेस युनियन मुगुका संस्थापक अध्यक्ष विनोद कुमार मल्लले नेपाली कांग्रेसले प्रेस युनियनलाई सत्तामा हुँदा बेवास्ता गर्ने र विपक्षमा हुँदा प्रयोग गर्ने गरेको आरोप लगाए।

कार्यक्रम जिल्ला अस्पताल मुगुमा , प्रेस युनियन मुगुका अध्यक्ष नन्द बहादुर रोकायाको अध्यक्षतामा सम्पन्न भएको थियो।

लेखकको बारेमा

  • उहाँ मोहन शाही Lalmohor.com का मुगु जिल्ला प्रतिनिधि हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल