बर्दघाट नगरपालिका–१२ दबिल्लास्थित ऐतिहासिक एवं धार्मिक महत्वको बुद्धमंगल ताल क्षेत्रको संरक्षण र समुन्नत विकासका लागि बर्दघाट नगरपालिकाले एकीकृत विकास योजना अघि सारेको छ। नगर प्रमुख शम्भुलाल श्रेष्ठले ताल परिसरमा रहेको बौद्ध गुम्बा बिहारमा आयोजित २६४९औं बुद्ध जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै यसबारे जानकारी दिए ।
नगर प्रमुख श्रेष्ठका अनुसार बुद्धमंगल ताल बर्दघाट नगरको सांस्कृतिक र धार्मिक पहिचानसँग जोडिएको स्थल हो। त्यसैले ताल क्षेत्रको प्रचारप्रसार, संरक्षण र पर्यटकीय प्रवर्द्धनका लागि ‘बुद्धमंगल ताल विकास मूल समिति’ गठन गरिने तयारी गरिएको हो। यस समितिमार्फत तालको सौन्दर्यकरण, संरचनात्मक विकास, जल व्यवस्थापन, सामुदायिक वन संरक्षण, धार्मिक स्थलहरूको व्यवस्थापन लगायत विविध पक्षलाई समेटेर योजनाबद्ध रुपमा अघि बढ्ने बताइएको छ।
कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं. १३ का अध्यक्ष नरबहादुर चौधरीले लुम्बिनी दर्शनका लागि देश-विदेशबाट आउने भक्तजनलाई बुद्धमंगल तालसम्म आकर्षित गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा वडा नं. १२ का अध्यक्ष उमाशंकर चौधरी, निवर्तमान वडाध्यक्ष मानबहादुर मल्ल, बर्दघाट प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिकाबहादुर पहारी, संस्कृति विभाग संयोजक दीपप्रकाश लोहनी, प्रज्ञा सभा सदस्य मनो गोल्डी, शहीद स्मृति अस्पतालका अध्यक्ष डि.बी. थापा, जहदा पुस्तकालयका अध्यक्ष सुरज के.सी. र उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेलगायतले बुद्धमंगल ताल र बुद्ध धर्मका विविध पक्षमा धारणा राखेका थिए।
कार्यक्रम बुद्धमंगल ताल बौद्ध गुम्बा बिहार प्रतिष्ठानको आयोजनामा तथा बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सम्पन्न भएको हो। प्रतिष्ठानका अध्यक्ष धनबहादुर सिङजालीको अध्यक्षता र सचिव वृखबहादुर रानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्णबहादुर थापाले स्वागत मन्तव्य राखेका हुन् ।