बर्दघाटमा टोल विकास समितिलाई लक्षित गर्दै न्यायिक सम्बन्धी दुई दिने तालिम सुरु


बर्दघाटमा टोल विकास समितिलाई लक्षित गर्दै न्यायिक सम्बन्धी दुई दिने तालिम सुरु
  • लाल मोहर
  • बैशाख १०, २०८२

बर्दघाट, नवलपरासी —
बर्दघाट नगरपालिकाभित्रका विभिन्न टोल विकास समितिका प्रतिनिधिहरूलाई लक्षित गरी न्यायिक प्रणाली, टोलको भूमिका र सामाजिक न्याय प्रवाहका विषयमा आधारित दुई दिने तालिम आजदेखि सुरु भएको छ। तालिम बर्दघाट उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको हो।

तालिमको उद्घाटन सत्रमा नगर प्रमुख श्री शम्भुलाल श्रेष्ठले टोल विकास समिति स्थानीय सरकारको आधारशिला भएको उल्लेख गर्दै समितिहरूले जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले उनीहरूको सक्रियता नगरको समग्र विकासमा निर्णायक हुने धारणा राख्नुभयो। “गाउँ–टोलमै हुने सानातिना हिंसात्मक घटनाहरूलाई समयमै व्यवस्थापन गर्न सकिएमा ठूलो समस्याको समाधान सम्भव हुन्छ। टोल प्रतिनिधिले यस्ता विषयमा अग्रसर भूमिका लिनुपर्छ,” नगरप्रमुख श्रेष्ठले भन्नुभयो।

कार्यक्रमको पहिलो दिन श्री गणेश पाण्डेको प्रमुख सहजिकरणमा काम, कर्तव्य र अधिकार, समाजमा देखिने विविध घटनाको विश्लेषण, समस्या पहिचान र प्राथमिकिकरण जस्ता व्यवहारिक सत्रहरू सञ्चालन गरिएको थियो। सहभागीहरूले समूहगत छलफल र अभ्यासमार्फत आफ्ना अनुभवहरू पनि साझा गरेका थिए।

तालिम वडा नं. ७ का अध्यक्ष तथा न्यायिक समिति सदस्य श्री ध्रुव थारूको अध्यक्षतामा सुरु भएको हो। उद्घाटन सत्रमा न्यायिक समिति सदस्य श्रीमती मञ्जु चालिसेले स्वागत मन्तव्य दिँदै तालिमको उद्देश्य र अपेक्षित परिणामबारे जानकारी दिनुभएको थियो।

कार्यक्रम सञ्चालन न्यायिक समिति शाखा प्रमुख श्रीमती जमुना सुवेदीले गर्नुभएको थियो।

दुई दिनसम्म सञ्चालन हुने यो तालिमले टोल विकास समितिलाई न्यायिक मुद्दा समाधान, स्थानीय समस्या व्यवस्थापन तथा नागरिक अधिकारको प्रत्याभूति गराउन आवश्यक ज्ञान र सीप प्रदान गर्ने अपेक्षा गरिएको आयोजक संस्थाले जनाएको छ।