तनहुँ जिल्लाको आँबुखैरेनीनजिकै एउटा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी छ।
पोखराबाट काठमाण्डूतर्फ जाँदै गरेको उक्त बस भारतको उत्तर प्रदेशमा दर्ता भएको देखिन्छ।
दुर्घटना ऐनापहरामा भएको हो। दुर्घटनाको कारण खुल्न बाँकी छ। उक्त बसमा झन्डै ४० जना सवार रहेको अनुमान गरिएको छ।
“बस अप्ठ्यारो ठाउँमा खसेको हुनाले उद्धारमा कठिनाइ भएको छ,” आँबुखैरेनीस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक शिव थापाले बताए।
गत महिना चितवनको सिमलतालमा दुइटा यात्रुवाहक बस पहिरोले बगाएर त्रिशूली नदीमा खस्दा भारतीय नागरिकहरूसहित दर्जनौँ मानिसको मृत्यु भएको थियो।
ती बसमा ६२ जनामध्ये तीन जना जीवितै बाहिर निस्किएका थिए भने २४ जनाको शव फेला परेको थियो। दुवै बसको भग्नावशेष फेला परेन।