नवलपरासी पश्चिममा संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बर्दघाट ट्रमा सेन्टरको शिलान्यास गर्नुभएको छ। आज बर्दघाट नगरपालिकाको आयोजनामा आयोजित एक विशेष कार्यक्रमको बीचमा शिलन्यास भएको हो।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले राजमार्गमा हुने दुर्घटनामा परेका घाइतेहरूलाई छिटो र प्रभावकारी उपचार प्रदान गर्न बर्दघाट ट्रमा सेन्टरलाई राष्ट्रिय ट्रमा सेन्टरको रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ट्रमा सेन्टर निर्माणका लागि नगरपालिकाले राष्ट्रिय आवास कम्पनीको जग्गा भाडामा लिएर निर्माण सुरु गरेको छ, जसलाई ट्रमा सेन्टरकै स्वामित्वमा ल्याउन पहल गर्ने आश्वासन पनि उहाँले दिनुभयो।
मन्त्री पौडेलले निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न आग्रह गर्दै, भुक्तानीमा कुनै समस्या नआउने कुरा बताउनुभयो। उहाँले बीमाको रकम वृद्धि गरी यसलाई अझ प्रभावकारी बनाउने योजना रहेको पनि उल्लेख गर्नुभयो।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले लामो प्रयासपछि ट्रमा सेन्टर शिलान्यास गर्न सफल भएको र यसले जग्गाको संरक्षणमा पनि योगदान रहने कुरा बताउनुभयो। अन्य विशिष्ट व्यक्तिहरू लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु मगर, सांसद विनोद चौधरी, सरिता भुसाल, पूर्व मन्त्री हृदयेश त्रिपाठी, र देवेन्द्रराज कँडेलले पनि ट्रमा सेन्टरको निर्माणले आम नागरिकलाई ठूलो फाइदा पुग्ने कुरा व्यक्त गर्नुभयो ।
यो ट्रमा सेन्टर ९ करोड बढीको लागतमा एक्सिस एसियन कन्स्ट्रक्सन कम्पनीले १८ महिनामा निर्माण गर्ने योजना रहेको छ।