पुर्वपश्चिम राजमार्ग

दाउन्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध: यात्रुहरू अलपत्र


दाउन्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध: यात्रुहरू अलपत्र
  • लाल मोहर
  • जेष्ठ ११, २०८२

शुक्रवार रातिदेखिको अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ अन्तर्गत पर्ने खुर्सानी खोलानजिकको दाउन्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक भासिएर करिब ७ मिटर भागमा क्षति पुगेको र ढलान गरिएको भाग समेत उप्किएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाले जानकारी दिए।

शनिवार बिहानसम्म पनि सडक सञ्चालनमा आउन सकेको छैन। निरन्तरको वर्षाले मर्मत कार्यमा कठिनाइ भइरहेको र पानी रोकिएपछि निर्माण कम्पनी तथा सडक विभागसँग समन्वय गरी शीघ्र सञ्चालनमा ल्याउन पहल भइरहेको बानियाँले बताए।

सडक अवरुद्ध भएपछि पश्चिमबाट पूर्व जाने सवारी साधनहरू बर्दघाटमा र पूर्वबाट पश्चिम जाने सवारी साधनहरू दुम्किबासको ज्यामिरेमा रोकिएका छन्। यात्रुहरू लामो समयसम्म सवारी साधनमा अलपत्र परेका छन्।

यसअघि पनि दाउन्ने क्षेत्रमा सुक्खा पहिरो खस्दा यातायात अवरुद्ध हुने घटना भएको थियो। विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको थियो। पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिएका थिए ।

दाउन्ने सडक खण्डमा हाल सडक विस्तारको काम भइरहेको छ। निर्माण कार्यका कारण सडकमा ठूला खाल्डाहरू बनेका छन्, जसले गर्दा सवारी साधनहरू भासिने र जाम हुने समस्या उत्पन्न भएको छ। यात्रुहरूलाई चार घण्टा पैदल यात्रा गर्नुपर्ने अवस्था आएको छ ।

 

सडक विस्तारको काम समयमा सम्पन्न नहुँदा यात्रुहरूलाई सास्ती भोग्नुपरेको छ। दाउन्ने क्षेत्रको सडक साँघुरो, उकालो–ओरालो र घुमाउरो मोड भएकोले सवारी साधन बिग्रिएपछि व्यवस्थापन गर्न समय लाग्ने र जामको समस्या बढी हुने प्रहरी नायब निरीक्षक लक्ष्मण तनगामीले बताए ।

सरकार र निर्माण कम्पनी दुवैको ध्यान समयमै निर्माण, यात्रु सुरक्षामा चासो र धुलो नियन्त्रणमा समर्पित नहुनु मुख्य चुनौतीका रूपमा देखिएको छ ।