नवलपरासी (पश्चिम),
बर्दघाट नगरपालिकाले सहिद स्मृति सामुदायिक अस्पतालको सहकार्यमा ‘मिर्गौला पीडित बचाउ महाअभियान’ सुरु गरेको छ। स्थानीय स्तरमा मिर्गौला पीडितका लागि डायलासिस सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो अभियान शुक्रबार भव्य समारोहबीच सार्वजनिक गरिएको हो।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले अभियानलाई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको ऐतिहासिक पहल भन्दै सरकारको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाए।
हाल अस्पतालमा चारवटा डायलासिस मेसिन तयारी अवस्थामा छन्। पूर्वाधार पनि तयार भइसकेको छ तर जनशक्ति व्यवस्थापन र अन्य स्रोतसाधनको अभावले सेवा सुरु गर्न नसकिएको भन्दै अभियानमार्फत सहयोग संकलन थालिएको हो।
नगरप्रमुख शम्भु श्रेष्ठले “एक घर, एक हजार” अभियानमार्फत बर्दघाट नगरभित्रका १०–१५ हजार घरधुरीलाई सहभागी गराउने लक्ष्य लिएको बताए। उनका अनुसार यो सहयोग ऐच्छिक हो र जोसुकैले आफ्नो क्षमताअनुसार योगदान गर्न सक्नेछन्।
जिल्ला समन्वय समितिका प्रमुख भगवती यादवले यस अभियानलाई मानवीय उद्देश्यले प्रेरित महान प्रयास भन्दै सबै समुदायलाई सहभागी हुन आग्रह गरे।
अस्पताल विकास केन्द्रका अध्यक्ष डिलबहादुर थापाका अनुसार, सेवा सुरु भएपछि जिल्लाका बिरामीहरूलाई बुटवल वा भैरहवा जानुपर्ने बाध्यता अन्त्य हुनेछ र स्थानीयस्तरमै सहज सेवा पाउनेछन्।
नगरप्रमुख श्रेष्ठले अन्त्यमा देश–विदेशमा रहेका गैरआवासीय नेपाली, संघसंस्था, परोपकारी व्यक्ति तथा दातृ निकायहरूलाई अभियानमा सहभागी हुन अनुरोध गर्दै भने,
“सामूहिक प्रयास र जनसहयोगमार्फत मात्रै हामी स्वास्थ्य सेवामा आत्मनिर्भर बन्न सक्छौं। आउनुहोस्, मिर्गौला पीडितका लागि जीवनदायी हात फैलाऔं।”