यार्सागुम्बा

२०८२ को यार्सा सिजन: मुगुम कार्मारोङमा जेठ १३ बाट संकलन सुरु


२०८२ को यार्सा सिजन: मुगुम कार्मारोङमा जेठ १३ बाट संकलन सुरु

मुगु, जेठ ५ – मुगु जिल्लाको पूर्वी करान क्षेत्र अन्तर्गत पर्ने मुगुम कार्मारोङ गाउँपालिका भित्रको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि आगामी जेठ १३ गतेदेखि वन प्रवेश खुला गरिने भएको छ।

गाउँपालिकाका अनुसार जिल्लाभित्रका संकलनकर्ताले प्रतिव्यक्ति रु. २,००० र बाह्य जिल्लाबाट आउनेले रु. २,५०० वन प्रवेश शुल्क तिर्नुपर्नेछ। प्रवेश अनुमति पाएका संकलकहरूलाई जेठ १३ गते बिहानबाट मात्रै वन प्रवेशको अनुमति दिइने छ।

गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार यार्सागुम्बा संकलनको क्रममा पर्यावरण संरक्षणको विशेष ध्यान दिन सबै संकलनकर्तालाई आग्रह गरिएको छ। विशेषगरी सिसा, प्लास्टिकजन्य फोहर नफाल्न, जथाभावी रुखबिरुवा नकाट्न र पाटन क्षेत्र सफा राख्न भनिएको छ।

यार्सा पाइने प्रमुख स्थानहरूमा रिमाण, ठुलो कोइकी, सानो कोइकी, छापाखोला र च्यार्कुल वन क्षेत्र पर्छन्।

अवैध प्रवेशमा कडा कारबाहीको तयारी

यद्यपि, जेठ १३ गते मात्र संकलन अनुमति दिइने भनिए पनि केही व्यक्तिहरूले चोरी पैठारी गरी पहिले नै वन प्रवेश गरिसकेको गाउँपालिकाले जनाएको छ।
यस सम्बन्धमा सूचना पाएपछि गाउँपालिका, सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी) र सरोकारवाला निकायहरूको बैठक बसेर अवैध प्रवेशमा कडा जरिवाना र कानुनी कारबाही गर्ने तयारी भएको हो।

गएको वर्ष यार्सागुम्बा संकलनबाट गाउँपालिकाले रु. ७१ लाख राजस्व संकलन गरेको थियो। यस वर्ष त्योभन्दा बढी राजस्व संकलन हुने अनुमान गरिएको छ।
यसपटक संकलन प्रक्रिया झनै व्यवस्थित बनाउने, अनुमति प्रणालीलाई कडाइका साथ कार्यान्वयन गर्ने, र प्रशासनिक तथा सुरक्षात्मक निगरानी बढाउने निर्णय लिइएको छ।

लेखकको बारेमा

  • उहाँ मोहन शाही Lalmohor.com का मुगु जिल्ला प्रतिनिधि हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल