शुक्रबार दिउसो आएको हावाहुरीले सुनवल नगरपालिका–७ स्थित चारपालामा ठूलो दुर्घटना निम्त्याएको छ। सडक किनारको प्रतिक्षालयमा बसेका केही व्यक्तिहरूलाई रुख ढलेर च्याप्दा घाइते भएका छन्।
घाइतेहरूको स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा तत्काल उद्धार गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको वडा नं. ७ का वडाध्यक्ष नारायण प्रसाद आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार केही मानिसहरू अझै पनि रुखको च्यापेटोमा परेको हुनसक्ने आशंका गरिएको छ।
“घटनास्थलमा उद्धार कार्य तीव्र रूपमा चलिरहेको छ,” वडाध्यक्ष आचार्यले बताउनुभयो। घटनास्थलमा प्रहरी, स्थानीय स्वयंसेवक र नगरपालिकाको टोली परिचालित छ।
हालसम्म घटनामा कति जना मानिस घाइते भए भन्ने स्पष्ट विवरण भने आइनसकेको वडाध्यक्ष आचार्यले जानकारी दिनुभयो। थप विवरण आउन बाँकी रहेको छ।