नवलपरासी, वैशाख २० – मानव अधिकार तथा शान्ति समाज नवलपरासी शाखाले शनिबार बर्दघाट बजारको चोकमा प्ले कार्ड बोकी जनचेतना मूलक कार्यक्रम आयोजना गर्दै विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ।
कार्यक्रममा समाजका सभापति शिव प्रसाद पौडेलको नेतृत्वमा नवलपरासी शाखाका पदाधिकारी, स्थानीय पत्रकार, व्यवसायी तथा नागरिकहरू सहभागी थिए। सहभागीहरूले “प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो”, “सञ्चारगृहहरूमा तोडफोड गर्ने गिरोहका दोषीलाई कडा कारबाही गर” लगायतका नारा लेखिएका प्ले कार्डहरू बोकेका थिए।
झण्डै आधा घण्टा चलेको शान्तिपूर्ण प्रदर्शनमार्फत सञ्चार क्षेत्रमाथि बढ्दो हमलाको विरोध गर्दै प्रेस स्वतन्त्रताको संरक्षण आवश्यक रहेकोमा जोड दिइएको थियो। कार्यक्रममा पत्रकारिता क्षेत्रका समस्या, अभिव्यक्ति स्वतन्त्रताको महत्त्व तथा प्रेसमाथिका दवाव र खतराहरूबारे गम्भीर छलफलसमेत गरिएको थियो।
सभापति पौडेलले प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको आधार भएको उल्लेख गर्दै सञ्चारकर्मीहरूलाई सुरक्षित वातावरणमा काम गर्न पाउनु उनीहरूको मौलिक अधिकार भएको बताए।