बर्दघाट (नवलपरासी), १६ वैशाख — नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा सडक विस्तार कार्यका लागि वैशाख ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने भएको छ।
यसअघि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी रोकिएकोमा, अब यो अवधि वैशाख ३१ गतेसम्म लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार भित्तातर्फको कटिङ कार्य वर्षाअघि सम्पन्न गर्न रातिको समयमा सवारी रोकेर निर्माण कार्य तीव्र पारिएको हो।
दाउन्ने क्षेत्रमा अहिले पहाड काट्ने, पर्खाल बनाउने र कल्भर्ट निर्माणको काम भइरहेको छ। सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार बजार क्षेत्र र जोखिमयुक्त १४ किलोमिटर क्षेत्रमा तीन लेनको सडक विस्तार भइरहेको छ।
१ सय १४ किलोमिटर लामो नारायणगढ–बुटवल सडकको ६५ किलोमिटर भाग गैँडाकोटदेखि दाउन्नेसम्म विस्तार भैरहेको छ। १७ अर्ब रुपैयाँ लागतमा चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले निर्माणको जिम्मा लिएको र म्याद तेस्रो पटक थपेर २०८२ साउन ८ गतेसम्म रहेको छ।