त्रिबेणी सुस्ता (नवलपरासी) - पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा अवस्थित ऐतिहासिक र रमणीय झोलुङ्गे पुल अहिले जोखिमपूर्ण अवस्थामा पुगेको छ। दैनिक क्षमताभन्दा बढी यात्रुहरूको चाप र मोटरसाइकल कुदाउने प्रवृत्तिका कारण पुल जीर्ण बन्दै गएको छ। सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानका अनुसार, पुलमा भएको अत्यधिक भारले संरचनामा गम्भीर क्षति पुर्याइरहेको छ। सम्बन्धित निकायको उचित निगरानीको अभावले समस्या थप जटिल बन्दै गएको छ।
आवतजावत गर्ने मानिसहरूको लापरवाहीपूर्ण गतिविधिले पुलमा थप जोखिम सिर्जना गरिरहेको छ। खुलेआम एउटै मोटरसाइकलमा तीनजना वा सोभन्दा बढी व्यक्ति सवार भई पुल पार गर्ने दृश्य सामान्य जस्तै बनेको छ। क्षमता भन्दा बढी भार थपिँदा पुलको संरचनामा गम्भीर असर परिरहेको छ। यस्तो गतिविधि दैनिक भइरहे पनि स्थानीय प्रशासन र निगरानी निकायहरू मौन बस्ने गरेका छन् ।
सुस्ता झोलुङ्गे पुल नारायणी नदीमाथि बनेको एक महत्वपूर्ण संरचना हो। नदी र वरपरको मनोरम दृश्य अवलोकन गर्न यहाँ दैनिक ठूलो सङ्ख्यामा आन्तरिक र भारतीय पर्यटक आउने गरेका छन्। यद्यपि, पुल मुख्यतः सुस्तावासीलाई सहज आवागमनको सुविधा प्रदान गर्न निर्माण गरिएको हो भन्ने सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय बताउँछन्।
पुलको संरक्षण र व्यवस्थापनका लागि गाउँपालिकाले नगर प्रहरी परिचालन गरेको भए पनि, लामो समयदेखि प्रभावकारी व्यवस्थापन हुन सकेको छैन। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालका अनुसार, पुलको सञ्चालन र रेखदेखका लागि गत वर्ष ९ लाख रुपैयाँमा १५ महिनाको ठेक्का आह्वान गरिएको थियो। तर, इच्छुक प्रस्तावक नआएपछि प्रक्रिया रोकिएको छ र पुनः नयाँ ठेक्का आह्वानको तयारी भइरहेको छ।
२३ करोडको लागतमा निर्माण गरिएको यो झोलुङ्गे पुल नेपालको एक अद्वितीय संरचना हो। १५७१ मिटर लम्बाइ र १.६० मिटर चौडाइ भएको पुलले न केवल स्थानीय बासिन्दाहरूको जीवनमा सहजता ल्याएको छ, तर सुस्तालाई पर्यटकीय गन्तव्यको रुपमा समेत चिनाउन ठूलो योगदान दिएको छ