बर्दघाट, नवलपरासी – बर्दघाट नगरपालिकाले नगरभित्रका सबै सार्वजनिक विद्यालयहरूलाई नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ। नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि सुरु भएको आन्दोलनका कारण विद्यालयहरू बन्द भई बालबालिकाको पढाइ प्रभावित भएपछि नगरपालिका कार्यालयले यस्तो निर्देशन जारी गरेको हो।
नगरपालिकाद्वारा जारी सूचनामा विद्यालय बन्द हुँदा विद्यार्थीहरूको भविष्यमा नकारात्मक असर पर्ने भन्दै नियमित पठनपाठन सञ्चालन गर्न आग्रह गरिएको छ। यसका साथै, चालु शैक्षिक सत्र २०८२ को भर्ना अभियान, पाठ्यपुस्तक वितरण र अन्य शैक्षिक तथा प्रशासनिक कार्यहरूलाई समेत नियमित रूपमा अगाडि बढाउन निर्देशन दिइएको छ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले भने, “शिक्षा हाम्रो पहिलो प्राथमिकता हो। आन्दोलन र अन्य कारणले बालबालिकाको भविष्यमा असर पर्नु हामीलाई स्वीकार्य छैन।विद्यालयहरूले कुनै पनि हालतमा पठनपाठन अवरुद्ध हुन नदिई वैकल्पिक व्यवस्थाबाट कक्षा सञ्चालन गर्नुपर्छ।”
श्रेष्ठले सबै विद्यालयका शिक्षक, प्रधानाध्यापक र सम्बन्धित निकायहरूलाई सहकार्य गरेर विद्यार्थीहरूको पढाइ निरन्तरता दिन हार्दिक अनुरोध गरेका छन्।