१० मेगावाट क्षमताको प्लान्ट, वार्षिक १.७६ करोड युनिट विद्युत् उत्पादनको लक्ष्य

नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताको चासो


नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताको चासो

बाँके, बैशाख ६ – बाँकेको नरैनापुर गाउँपालिकामा सौर्य ऊर्जा उत्पादनका लागि भारतीय लगानीकर्तासँग बृहत छलफल सम्पन्न भएको छ। परियोजनामार्फत खाली जग्गाको सदुपयोग गर्दै स्थानीय आर्थिक समृद्धि र ऊर्जा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिइएको छ।

गाउँपालिका अध्यक्ष शैयद इश्तियाक अहमद शाह, प्रदेश सांसद कृष्ण केसी, खजुरा वडाध्यक्ष धनिराम ओली, सौर्य ऊर्जा विज्ञ भरत विश्वकर्मा र प्रेस विज्ञ आलम खानसहितको टोलीले भारतीय लगानीकर्ता रोहनराज हेडजेसँग नेपालगञ्जमा छलफल गरेको हो।

लगानीकर्ता हेडजेको अनुसार, करिब ७० करोड रुपैयाँ लगानीमा १० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना सुरु गरी वार्षिक १ करोड ७६ लाख युनिट विद्युत् उत्पादन गर्ने र सो विद्युत् सिधै राष्ट्रिय ग्रिडमा जोडिनेछ। नवीकरणीय ऊर्जा अनुदान नीति अनुसार, यस्ता परियोजनामा ब्याज अनुदान, सस्तो ऋण र प्रति युनिट रु. १.५० सम्मको भायबिलिटी ग्याप फन्डिङ सुविधा पाइने व्यवस्था छ।

प्रदेश सांसद केसीका अनुसार, यो परियोजना नरैनापुर मात्र होइन, राप्ती सोनारी र डुडुवा गाउँपालिकाका नागरिकका लागि पनि कृषि र व्यवसायिक गतिविधिमा ऊर्जा प्रयोगको अवसर हुनेछ।

नरैनापुरको समृद्ध भविष्यतर्फको यो कदमले “सुखी नेपाल, समृद्ध नेपाल” अभियानलाई थप गति दिने विश्वास लिइएको छ।

लेखकको बारेमा

  • उहाँ गणेश पाण्डे ‘सिसम’ Lalmohor.com का सह-सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल