नेपाली कांग्रेस बर्दघाट नगर कार्यसमितिले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्र एकता, अनुशासन र सक्रिय सहभागिताको अपिल गरेको छ ।
नगर कार्यसमितिद्वारा जारी विज्ञप्तिमा नेपाली कांग्रेसको ऐतिहासिक भूमिका, लोकतान्त्रिक मूल्य–मान्यता र जनउत्तरदायी शासन व्यवस्थालाई थप सुदृढ बनाउने जिम्मेवारी सबै नेता, कार्यकर्ता तथा मतदाताको साझा दायित्व भएको उल्लेख गरिएको छ ।
पार्टीले कुनै पनि प्रकारको भ्रम, अफवाह वा अस्वस्थ गतिविधिमा नलागी पूर्ण एकताका साथ निर्वाचन अभियानमा सक्रिय रहन आग्रह गरेको छ ।
वर्तमान राजनीतिक परिस्थितिमा देशलाई स्थिर, सक्षम र दूरदर्शी नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै नेपाली कांग्रेसका सभापती गगन थापा नेतृत्वमा सरकार गठन भई मुलुकलाई राजनीतिक स्थायित्व, सुशासन र आर्थिक पुनरुत्थानतर्फ अगाडि बढाउने स्पष्ट मार्गचित्र रहेको नगर कार्यसमितिको भनाइ छ ।
यसैक्रममा क्षेत्र नं. १ मा जनताको सेवा, विकास र सुशासनलाई प्राथमिकतामा राख्दै पार्टीका आधिकारिक उम्मेदवार विनोद चौधरीलाई विजयी गराउनु सबै कांग्रेसजनको साझा जिम्मेवारी भएको विज्ञप्तिमा उल्लेख छ । उम्मेदवार चौधरीको विजयले समग्र विकास, समावेशी नीति र जनमुखी शासन प्रणालीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।
पार्टीले विगतमा विभिन्न कारणले अलग भएका तथा निष्क्रिय रहेका शुभेच्छुकहरूलाई पनि पुनः पार्टीको मूलधारमा फर्किन आह्वान गर्दै लोकतान्त्रिक मूल्यको रक्षा गर्दै अघि बढ्न आग्रह गरेको छ । विविध विचार लोकतन्त्रको सुन्दर पक्ष भए पनि निर्णायक घडीमा एकताबद्ध भएर अघि बढ्नु नै राष्ट्र र पार्टी दुवैको हितमा हुने नगर कार्यसमितिको ठहर छ ।
विज्ञप्तिको अन्त्यमा पार्टी नीति, सिद्धान्त र संगठनात्मक मर्यादालाई आत्मसात गर्दै सबै तह र तप्काबाट जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
