बर्दघाट, नवलपरासी (सु.पू.) — बर्दघाट नगरपालिकाका ८ सामुदायिक विद्यालयमा लागू हुन लागेको विद्यालय सुधार योजना निर्माणका लागि आयोजित विशेष तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कालिका क्याम्पस, बुटवलका क्याम्पस प्रमुख घनश्याम पाठकको प्रमुख सहजीकरणमा तालिम कार्यक्रम बर्दघाटमै सम्पन्न भएको हो। तालिममा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष तथा बाल क्लब अध्यक्षहरूको सक्रिय सहभागिता रहेको थियो।
तालिमको प्रमुख उद्देश्य सहभागी विद्यालयहरूले आ–आफ्नो विद्यालयको यथार्थ अवस्था मूल्याङ्कन गरी सुधार योजना निर्माण गर्नु रहेको थियो। सहभागीहरूले तालिमपछि योजना निर्माण प्रक्रियामा स्पष्टता बढेको र समुदायको सहभागिता सुनिश्चित गर्दै अघि बढ्न आवश्यक मार्गदर्शन प्राप्त भएको बताएका छन्।
उद्घाटन सत्रमा बर्दघाट नगरपालिकाका नगरप्रमुख सम्भुलाल श्रेष्ठले सम्बोधन गर्दै शिक्षा क्षेत्रलाई स्थानीय सरकारको पहिलो प्राथमिकता रहेको बताए। उनले भने, “विद्यालयहरूलाई प्रविधिमैत्री बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न स्थानीय सरकार सधैं प्रतिबद्ध छ।” साथै, विद्यालय सुधार परियोजनाले शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान दिने विश्वास पनि व्यक्त गरे।
उक्त परियोजनाअन्तर्गत सहकारी शिक्षण पद्धति, बाल क्लब सशक्तिकरण, अभिभावक सहभागिता अभिवृद्धि, शिक्षकको क्षमता विकास लगायतका कार्यक्रमहरू सञ्चालन गरिने छन्।
तालिमको सफल समापनपछि सहभागी विद्यालयहरूले आ–आफ्नो विद्यालय सुधार कार्ययोजना तयार पार्ने तयारी गरिरहेको समृद्ध सामुदायिक विकास केन्द्रले जानकारी दिएको छ।