मुगु जिल्लामा कला, संस्कृति, भेषभूषा र पर्यटन प्रवर्द्धनका लागि ‘प्रथम रारा महोत्सव’ आयोजना हुने भएको छ। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालको प्रवर्द्धन तथा मुगुको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रचारप्रसार गर्न महोत्सव आयोजना गर्न लागिएको हो।
एच आर मिडिया प्रा.लिको आर्थिक सहयोगमा तथा राष्ट्रिय र स्थानीय कलाकारहरूको सहभागितामा आयोजना हुने उक्त महोत्सव आगामी जेठ १८ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले महोत्सव सम्बन्धी जानकारी दिएका हुन्।
एच आर मिडिया प्रा.लिका अनुसार, महोत्सवले राराको पर्यटकीय सम्भावना उजागर गर्नुका साथै मुगु जिल्लाको सांस्कृतिक विविधता, भेषभूषा, परम्परा र स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
महोत्सवका अध्यक्ष नरेश भामका अनुसार, कार्यक्रममा ४० वटा स्टल राखिनेछन्, जहाँ मुगु जिल्लामा पाइने विविध वाणिज्यिक तथा औद्योगिक सामग्री उपलब्ध हुनेछन्। साथै, स्थानीय व्यापारीलाई स्टल शुल्कमा बाह्य व्यापारीको तुलनामा ३० प्रतिशत छुट दिइनेछ।
रारा ताल नजिकैको छायाँनाथ रारा नगरपालिका–८, बाम्नीचौरमा महोत्सव सञ्चालन हुनेछ।
एच आर मिडिया प्रा.लिका सदस्य सान्ताराम सेन्चुरीका अनुसार, महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ।
यसअघि २०५८ सालमा पहिलो र २०६२ सालमा दोस्रो रारा महोत्सव तत्कालीन जिल्ला विकास समितिको पहलमा आयोजना गरिएको थियो। तर, निजी लगानीमा यस प्रकारको ठूलो महोत्सव मुगुमा पहिलो पटक हुन लागेको हो।
रारा महोत्सवका सल्लाहकार दिपेन्द्र भामका अनुसार, यस महोत्सवका लागि कुनै पनि सरकारी निकायबाट आर्थिक सहयोग लिएको छैन। स्थानीय युवाहरूले स्वतःस्फूर्त रूपमा आफ्नो निजी लगानीबाट महोत्सव आयोजना गर्न लागेको हो।