बर्दघाट नगरपालिकाका बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले धुलिखेल अस्पताल र बर्दघाट नगरपालिकाबीच आज पाँचवर्षे स्वास्थ्य सेवा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
धुलिखेल अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका प्रशासकीय निर्देशक डा. बिराजमान कर्माचार्य र बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले संयुक्त रूपमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
समझदारीअनुसार, स्थानीय स्वास्थ्य प्रणालीलाई मजबुत बनाउने लक्ष्यसहित सेवा विस्तारलाई पाँच चरणमा लागू गरिनेछ।
सेवाको पाँच चरण यस्तो छ:
पहिलो चरणमा, बर्दघाट नगर क्षेत्रका सबै स्वास्थ्य केन्द्रहरूलाई समन्वय गरी एकीकृत सेवा योजना लागू गरिनेछ। यसले नगरभित्रै व्यापक र समन्वित उपचार प्रक्रिया सुनिश्चित गर्नेछ।
दोस्रो चरणमा, सोही अवधिमा डायालाइसिस सेवा केन्द्र स्थापना गरिनेछ, जसले विशेष गरी गम्भीर मिर्गौला रोगीलाई टाढा जानु नपरी स्थानीयस्तरमै उपचार उपलब्ध गराउनेछ।
तेस्रो चरणमा, प्रत्येक त्रैमासिकमा विशेष स्वास्थ्य शिविरहरू सञ्चालन गरिनेछन्। साथै, हप्तामा एक दिन विशेषज्ञ चिकित्सकसँग टेलिमेडिसिनमार्फत परामर्श उपलब्ध हुने व्यवस्था गरिनेछ।
चौथो चरणमा, स्थानीय स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिनेछ र दीर्घकालीन मानव स्रोत विकासको योजना अघि बढाइनेछ।
पाँचौं तथा अन्तिम चरणमा, स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि नयाँ उपकरणहरू भित्र्याउने र स्रोत विकास गरिनेछ।
समझदारीअनुसार, बर्दघाट नगरपालिकाले अस्पताल टोलीको यात्रा, आवास र भोजनको व्यवस्था गर्नेछ। उता, धुलिखेल अस्पतालले कुनै शुल्क नलिई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले लालमोहर संगको कुराकानिमा ,
“हामी बर्दघाट नगरवासीका लागि गुणस्तरीय र समयमै उपचार सुनिश्चित गर्न कटिबद्ध छौँ। धुलिखेल अस्पतालसँगको यो सहकार्य हाम्रो नगरको स्वास्थ्य क्षेत्रमा एक नयाँ युगको सुरुवात हो। यस साझेदारीले नगरबासीको जीवनस्तर सुधार गर्नेछ भन्ने गहिरो विश्वास लिएको बताए ।”
समझदारीपत्र २०८४ सालको अन्त्य (जुन २०२७) सम्म प्रभावकारी रहनेछ। यो अवधिभित्र कुनै पनि संशोधन वा अन्त्य दुबै पक्षको सहमतिमा मात्र गर्न सकिने उल्लेख गरिएको छ।