बर्दघाट, नवलपरासी – बर्दघाट नगरपालिकाले सेवा अवधि पूरा गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको कदर गर्दै रु. २ लाख ५० हजार नगद प्रोत्साहन तथा रु. १५ हजार मूल्य बराबरको मोबाइल फोन उपलब्ध गराउने निर्णय गरेको छ।
यसअघि दिँदै आएको २ लाख प्रोत्साहन रकममा थप ५० हजार वृद्धि गरी अबको आर्थिक वर्षदेखि लागू गरिने नगरप्रमुख शम्भुलाल श्रेष्ठले घोषणा गरेका छन्।
पूर्ण खोप तथा संस्थागत प्रसूति सेवायुक्त नगर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले भने, “स्वास्थ्य सेवा नागरिकको घरदैलोमै पुर्याउन स्वयंसेविकाहरूले रातदिन खटेर जुन योगदान दिनुभएको छ, त्यसको सम्मानस्वरूप यो निर्णय लिएको हुँ।”
श्रेष्ठका अनुसार नगर क्षेत्रभित्र कार्यरत ४४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन पनि वितरण गरिनेछ। साथै, यो योजना आगामी नीति तथा कार्यक्रममा समेटी बजेट विनियोजन गरिनेछ।
कार्यक्रममा सहभागी स्वयंसेविकाहरूले आफूहरूको निःस्वार्थ सेवाको कदर भएको भन्दै नगरपालिकाको घोषणाबाट उत्साहित र अभिप्रेरित भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्ता प्रोत्साहनले अझ जिम्मेवार र उर्जाशील भएर समाजसेवामा लाग्न थप हौसला मिल्ने बताए।