नारायणगढ –बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा आज बिहानको वर्षापछि सडक चिप्लो र हिलो बनेर सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
चार लेनमा विस्तार भइरहेको यो खण्डमा सामान्य वर्षा हुँदा समेत सडक अवरुद्ध हुने समस्या दोहोरिरहेकाले यात्रुहरूलाई दिनदिनै सास्ती भोग्नुपरेको छ।
विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र पैँसट्ठी मोड आसपास अत्यधिक हिलो जमेकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराले जानकारी दिए। उनका अनुसार वर्षा रोकिएपछि डोजर प्रयोग गरी सडक सफा गरिएपछि मात्र सवारी सञ्चालन पुनः सुरु गरिनेछ।
सडक विस्तारका लागि हरेक रात ६ घण्टा बन्द गरिँदै आएको भए पनि निर्माणको गति ढिलो भएको र हल्का पानी पर्दा पनि सडक बन्द हुने अवस्था अझै सुधारिएको छैन।
नारायणघाट–बुटवल सडक विस्तार आयोजनाका अनुसार आगामी असारसम्म अधिकांश कार्य सम्पन्न गर्ने लक्ष्य भए पनि यात्रुहरू दैनिक अवरोध, लामो जाम र हिलोमा अल्झिन बाध्य छन्। स्थानीय तथा ट्राफिक प्रशासनले यात्रुहरूलाई सतर्क रहन र वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ।