१० विधामा सीपमूलक तालिम

भरतपुरमा ४ सय युवालाई लक्षित गर्दै सीपमूलक तालिम सुरु


भरतपुरमा ४ सय युवालाई लक्षित गर्दै सीपमूलक तालिम सुरु

चितवन – भरतपुर महानगरपालिकाले १८ देखि ४० वर्ष उमेर समूहका ४ सय युवाहरुलाई लक्षित गर्दै विभिन्न १० विधामा सीपमूलक तालिम सुरु गरेको छ। तालिमको उद्घाटन एक कार्यक्रमका बीच नगर प्रमुख रेनु दाहालले गर्नुभयो।

तीन महिनासम्म सञ्चालन हुने तालिममा कम्प्युटर र मोबाइल मर्मत, कुक, वेटर, ब्युटिसियन, गार्मेन्ट, मेशिन अपरेटर, फेसन डिजाइनर, प्लम्बर, केयर गिभर, र हाउसकिपिङजस्ता विषय समेटिएका छन्। ३९० घण्टे तालिम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा, भरतपुर महानगरको समन्वयमा सञ्चालन हुँदैछ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख दाहालले भरतपुरमा अब भौतिक पूर्वाधारसँगै रोजगारी सिर्जनामा पनि जोड दिइएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा मागअनुसार थप १७ सय युवालाई तालिम दिन लागिएको जानकारी दिनुभयो।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले सीपमूलक तालिममार्फत वैदेशिक रोजगारीको निर्भरता घटाउन सकिने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले तालिमको प्रभावकारी प्रयोग गर्दै स्वावलम्बी बन्न सहभागी युवाहरुलाई आग्रह गर्नुभयो।

सिटीभिटिईबाट सम्बन्धित अनुमति प्राप्त सातवटा तालिम प्रदायक संस्थाहरुले तालिमको सहजीकरण गर्नेछन्। कार्यक्रममा राष्ट्रिय युवा परिषद् चितवन संयोजक रामचन्द्र लम्साल र कान्तिपुर बहुप्राविधिक शिक्षालयका श्यामजी कँडेलले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो।

लेखकको बारेमा

  • Lalmohor Media Chair person Rabin Sharma Chapagain
  • उहाँ रबिन शर्मा चापागाई Lalmohor.com का अध्यक्ष हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल