मोहन शाही, मुगु ११ बैशाख ,
छायानाथ रारा नगरपालिका अन्तर्गत गमगढीका युवाहरूले विद्यालय र गाउँलाई उत्पादन केन्द्र बनाउने ठोस संकल्प व्यक्त गरेका छन्। विद्यालयमै अर्गानिक वस्तु उत्पादन गरेर ‘पढ्दै–कमाउँदै’ गर्न सकिने धारणा सहित उनीहरूले आकर्षक र व्यावहारिक व्यावसायिक योजना (बिजनेस प्लान) प्रस्तुत गरेका हुन्।
कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (CDS–PARK) मुगुले आयोजना गरेको पाँच दिने “सक्रिय नागरिक हरित युवा उद्यमशीलता” तालिमको समापन कार्यक्रममा कक्षा १० सम्म पढाइ हुने चार विद्यालयका आठ जना विद्यार्थी र १२ जना युवा सहजकर्ताहरूले आफूहरूले देशमै सम्भावना देखेको प्रस्ट पारे। उनीहरूको अनुसार, फूल, चुली, कागती, बेसार, तरकारी खेती, नर्सरी तथा ओखर खेती जस्ता साना उद्यमले विद्यालयस्तरमै स्वरोजगारको सम्भावना दिन सक्छ र विद्यार्थीहरूले आफ्नै खर्च व्यवस्थापन गर्न सक्ने वातावरण तयार पार्न सकिन्छ।
समापन समारोहमा बोल्दै छायानाथ रारा नगरपालिकाका उपप्रमुख ऐश्वर्य मल्लले युवाहरूका योजनामा आउँदो असारदेखि नगरपालिका सहयोगी बन्ने प्रतिबद्धता जनाइन्। “विदेशमा सुख मात्रै होइन, पीडा पनि धेरै छ। देशमै उद्यम गर्नु नै सबैभन्दा उपयुक्त उपाय हो,” उनले भनिन्।
प्रशिक्षक युवराज चापागाईंले वातावरणीय प्रदूषणको असर हिमाली क्षेत्रमा देखिन थालेको उल्लेख गर्दै, “मुगुमा लामखुट्टे पुगिसकेको छ। सेता हिमालहरू हिउँ पग्लिएर कालो भएका छन्। यस्तो अवस्थामा हरित उद्यम नै एक मात्र विकल्प हो,” भन्दै वातावरण र हिमाल जोगाउन पनि हरित उद्यमशीलता अपरिहार्य रहेको बताए।
कार्यक्रमका आयोजक तथा CDS–PARK का संस्थापक कार्यकारी निर्देशक अज बहादुर शाहीले युवाहरूमा देशमै सम्भावना खोज्ने सोचको अभाव दुखद भएको बताए। “देश समृद्ध बनाउने शक्ति युवाहरूमा छ। स्रोत र साधनको सदुपयोग गर्दै वातावरणमैत्री उत्पादनतर्फ लाग्नु अहिलेको आवश्यकता हो,” उनले जोड दिए।
तालिमको पहिलो दिन स्याउका बेर्ना, बीउ बिजन र कलमी प्रक्रियाबारे अनुभव साट्दै युवा उद्यमी मरिचन्द्र भाम, च्याउ तथा बेमौसमी तरकारी खेतीमा सफल हेमन्त रोकाया, र लालिगुराँसबाट जुस बनाएर बिक्री गर्दै आएका हरि किस्न बिष्टले सहभागीसँग आफ्नो यात्राको अनुभव साटेका थिए। उनीहरूको अनुभवले युवाहरूलाई थप प्रेरणा र हौसला दिएको थियो।
हरित उद्यमशीलतामार्फत गाउँमै रोजगारी सिर्जना गर्न सकिने स्पष्ट देखिँदै गएको छ। रारा होराइजन होटलमा सम्पन्न भएको यो बुटक्याम्प स्कुल लाइफ इन नेपाल (डेनमार्क) को आर्थिक सहयोग तथा छायानाथ रारा नगरपालिकासँगको समन्वयमा सफलतापूर्वक सम्पन्न भएको हो।