शिक्षा क्षेत्रको प्रविधिकरण र गुणस्तरीय शिक्षाको प्रवर्धन गर्ने उद्देश्यले बर्दघाट नगरपालिकाले नगरभित्रका विद्यालयहरूमा कार्यरत शिक्षकहरूलाई लक्षित गरी ल्यापटप वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नगर शिक्षा समितिको मिति २०८१ साल फागुन २६ गते सम्पन्न बैठकको निर्णय अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक नगर विकास योजना अन्तर्गत उक्त कार्यक्रम सुरु गरिएको हो। नगर क्षेत्रका सरकारी तथा समुदायिक विद्यालयहरूमा कार्यरत शिक्षकहरूले व्यक्तिगत रूपमा ल्यापटप खरिद गरी शिक्षण कार्यमा प्रयोग गरेबापत प्रतिशिक्षक २० हजार रूपैयाँसम्मको आर्थिक अनुदान प्राप्त गर्नेछन्।
यस योजनाबाट माध्यमिक तह (अघिल्लो चरणमा ल्यापटप नपाएका), निम्नमाध्यमिक तथा प्राथमिक तहमा कार्यरत स्थायी, राहत, समायोजित, नगर/संघिय अनुदानका शिक्षकहरू लाभान्वित हुनेछन्।
कार्यक्रमबारे नगर प्रमुख शम्भुलाल श्रेष्ठले “शिक्षकहरू शिक्षाको मेरुदण्ड हुन्। गुणस्तरीय शिक्षा प्रवाहका लागि शिक्षकहरू प्रविधिसँग सशक्त हुन आवश्यक छ। ल्यापटप वितरण कार्यक्रमले शिक्षकहरूलाई प्रविधिमा आधारित सिकाइमा सहयोग पुर्याउने छ। हाम्रो लक्ष्य भनेको बर्दघाट नगरपालिकालाई डिजिटल शिक्षाको उत्कृष्ट नमुना नगर बनाउने बताउनुभयो ।
नगरपालिकाले शिक्षकहरूलाई शैक्षिक सामग्रीको पहुँच सहज बनाउँदै प्रविधिमैत्री शिक्षण प्रणालीमा अभ्यस्त गराउने उद्देश्य राखेको छ। यसबाट विद्यार्थीहरू समेत स्मार्ट सिकाइमा पहुँच बनाउन सक्षम हुने अपेक्षा गरिएको छ।
शिक्षकहरुले बैशाख १८ गते सम्म आवेदन दिन सक्नेछन ।