spot_img
Wednesday, May 22, 2024
Wednesday, May 22, 2024
spot_img

बालेन र हर्क साम्पाङको फेक भिडिओ लाइभ गर्दै सामाजिक सञ्जालमा स्क्याम !

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङसहित चर्चित व्यक्तिहरूको पुरानाे भिडिओ प्रयोग गरी सामाजिक सञ्जालमार्फत स्क्याम (ठगी) भइरहेको पाइएको छ । फेसबुकमा नक्कली पेज/ग्रुप बनाई चर्चित व्यक्तिहरूको भिडिओ राखेर सर्वसाधारणलाई ठगी गर्ने कार्य भइरहेको हो ।

यसरी ठगी गर्नेमा गिरोह नै सक्रिय भएर लागेको देखिन्छ । फेसबुकमा मुख्यगरी ‘आश्चर्य नगद पुरस्कार’ नाम भएको ग्रुपबाट यस्ताे गतिविधि भइरहेको छ । सो ग्रुपमा एड्मिन तथा एडिटरमा चर्चित व्यक्तिहरूको नाम वा उनीहरूको नामजस्तो देखिने अक्षर राखेर नक्कली पेज बनाइएको छ । त्यस्ता नक्कली ग्रुप/पेजबाट दैनिक रूपमा पुराना भिडिओ पठाएर स्क्याम भइरहेको छ । 

कसरी हुन्छ स्क्याम ?

ठगी गर्ने मनशायले खोलिएका चर्चित व्यक्तिको नामका फेसबुक पेजमा उनीहरूले पहिले गरेको लाइभ भिडिओ एउटा भागमा र कुनै पोस्टर अर्को भागमा राखिएको छ । जसको क्याप्सनमा लेखिएको छ, “इट्स रियल । तस्वीरमा रहेको नम्बर अनुमान गर्ने पहिलो 400 व्यक्तिहरूले 950,000 NPR को पुरस्कार पाउनेछन्। भाग्यले साथ रहोस् ।”

यता लाइभ भिडिओका कतिपय त्यस्ता पोस्टरमा धमिलो अक्षरमा सङ्ख्या राखिएको छ भने केहीमा महिलाले रकम देखाएको फोटो राखिएको छ । भिडिओ वास्तविक व्यक्तिले वास्तविक समयमै बोलिरहेको जस्तो देखिन्छ । सर्वसाधारणहरू झुक्किन्छन् र कुरा गर्न खोजेर कमेन्टमा आफ्ना कुराहरू राख्छन् ।

त्यसपछि उक्त नक्कली पेजबाट कमेन्टको रिप्लाईमा लेखिन्छ, “यदि तपाईंले 10 समूहहरूमा लाइभ प्रसारण साझा गर्नुभयो र 15 मिनेट हेर्नुभयो भने, तपाईंले सिधै मबाट उपहार प्राप्त गर्नुहुनेछ ।”

यही उपहारको लोभमा मानिसहरू विभिन्न फेसबुक ग्रुपमा भिडिओ शेयर गर्छन् । उनीहरूले शेयर गरेको भिडिओ आफ्नो फिडमा देखिएपछि अन्य फेसबुक प्रयोगकर्ता पनि सो लाइभ भिडिओ हेर्ने र कमेन्ट गर्ने गर्छन् । उनीहरूको कमेन्टमा पनि माथि उल्लेख गरिएको जस्तै रिप्लाई पठाइन्छ । यसरी स्क्यामर लाखौं प्रयोगकर्ताको फिडमा गइरहेका छन् ।

कसरी हुन्छ स्क्याम ?

जसले बढी लाइभ हेरेको छ वा बारम्बार कमेन्ट गरिरहेको छ, उसलाई इन्बक्समा उक्त स्क्यामरले सबैभन्दा पहिले ब्लगपोस्टको एउटा लिङ्क पठाउँछ । उक्त लिङ्क खोल्नासाथ सबैभन्दा माथि रातो अक्षरमा  “नोट: निश्चित गर्नुहोस् कि तपाईंले सही रूपमा दर्ता गर्नुभयो ताकि पैसा सिधै तपाईंको खातामा पठाइनेछ,” लेखिएको देखिन्छ । 

त्यसको तल ‘बधाई छ’ लेखिएको छ भने त्यसभन्दा तल “तपाईं एक भाग्यशाली व्यक्ति हुनुहुन्छ जसले विजेताको रूपमा छनोट हुनुभयो र नेपाल बाहिर 940,000 NPR को नगद पुरस्कार प्राप्त गर्नुहुनेछ $5,000 पाउनु हुनेछ!!” लेखिएको देखिन्छ । 

त्यसपछि सर्वसाधारणलाई झुक्याउनका लागि तल आफूले पुरस्कार जितेको भान पार्ने किसिमका शब्दहरू राखिएको देखिन्छ । त्यसभन्दा तल मेयर बालेन्द्र शाह, हर्क साम्पाङ वा जो व्यक्तिको लाइभ भइरहेको छ, उसैको नाम देखिन्छ ।

त्यसको तल पट्टि रजिस्टरको बटन हुन्छ । एनिमेसन बनाएर त्यसैमा क्लिक गर्न सङ्केत दिइन्छ । यदि त्यसमा क्लिक गरियो भने पेज रिडाइरेक्ट भएर हलोसेल नाम भएको वेबसाइटमा पुग्छ ।

त्यसमा नम्बर राख्न भनिएको हुन्छ । हामीले नम्बर राख्न भनेको बक्स नेपाल टेलिकम र एनसेलको सिमको नम्बर राखी परीक्षण गरेका थियाैं । नमस्ते (नेपाल टेलिकम) को नम्बर राख्दा प्रक्रिया अघि बढ्दैन, तर एनसेलको राख्दा कन्सेन्ट डट एनसेल डट आजियाटा डटकम डाेमेनकाे वेबसाइट खुल्छ । त्यस पेजमा पुनः नम्बर राख्न भनिएको हुन्छ । 

सोही बक्समा नमस्तेको माेबाइल नम्बर राख्दा ओटीपी आउँदैन । तर, एनसेलको नम्बर राख्दा डिभाइसमा ओटीपी कोड आउँछ । 

परीक्षणका क्रममा आजियाटाको आधिकारिक वेबसाइटबाट तयार भएको सब डोमेन  वेबसाइटबाट फोन नम्बर तथा ओटीपी नम्बर राख्न भनेको पाइएको थियो । तसर्थ एनसेलको कन्सेन्ट डट एनसेल डट आजियाटा डटकम साइट नै ह्याक भएर त्यसको दुरुपयोग भएको हो कि भन्ने आशंका गरिएको छ । 

ओटीपी कोड राख्दा के जोखिम हुन्छ ?

ओटीपी अर्थात् वन टाइम पासवर्ड तपाईंको कुनै पनि अनलाइन अकाउन्टको निकै महत्त्वपूर्ण पासवर्ड हो । स्क्यामरले कुन उद्देश्यका लागि तपाईंको नम्बर प्रयोग गर्छ भन्न सकिँदैन । यदि तपाईंको नम्बरमा कुनै पनि अकाउन्ट खोलिएको छैन भने उसले तपाईंकै नम्बर प्रयोग गरेर कुनै अकाउन्ट खोलेको हुनसक्छ ।

विशेषगरी डिजिटल वालेटको अकाउन्ट खोलेको छ र स्क्याम गरी पैसा सो अकाउन्टमा पठायो भने, पछि प्रहरीले खोज्दै जाँदा सोही नम्बरमा रकम गएको देखिन्छ । उक्त नम्बर कसको हो भन्ने कुरा खोज्दै जाँदा तपाईं पक्राउ पर्न सक्नुहुन्छ । 

त्यसबाहेक तत्कालै तपाईंको नम्बरबाट डिजिटल वालेट खोलिएको छ भने स्क्यामरले त्यही ओटीपी कोड राखी अकाउन्ट लगइन गर्छन् । र, बैंक लिङ्क भएको छ भने डिजिटल वालेट हुँदै तपाईंको बैंकको रकम चोर्छन् ।

त्यस्तै तपाईंले आफ्नो नम्बरबाट फेसबुक अकाउन्ट खोल्नु भएको हुनसक्छ । ​तपाईंको डिभाइसमा आएको ओटीपी कोड पठाउनु भयो भने फेसबुक अकाउन्ट नै उनीहरूको कब्जामा पर्न सक्छ ।

त्यसैले यसरी ओटीपी कोड शेयर गर्दा थुप्रै जोखिम निम्तिन्छन् ।

अनुसन्धान गर्दै प्रहरी

टेकपानाले यस घटनालाई दुई हप्तादेखि विश्लेषण गरिरहेको थियो । यसका जोखिम पत्ता लागेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई सो घटनाको प्रकृति र आवश्यक लिङ्कहरू उपलब्ध गराइएको छ ।

टेकपानासँग कुरा गर्दै उक्त कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले यस घटनाबारे तत्कालै सम्बन्धित शाखालाई निर्देशन दिएर अनुसन्धान थालिने बताए । “के रहेछ हामीले पहिले हेर्नुपर्ने हुन्छ,” एसएसपी केसीले भने ।

त्यस्तै उनले सामाजिक सञ्जालमा आउने त्यस्ता नक्कली भिडिओबाट बच्न समेत अनुरोध गरेका छन् ।

यस्ता स्क्यामबाट कसरी जोगिने ?

सबैभन्दा पहिले फेसबुकमा तपाईंसँग असम्बन्धित भिडिओ वा लाइभ छन् भने हेर्दै नहेर्नुहोस् । विभिन्न व्यक्तिहरूको फ्यान क्लब भनेर खोलिने फेसबुक ग्रुपहरू लिभ (leave) गर्नुहोस् ।

नेपालको परिप्रेक्ष्यमा फेसबुकमा हुने त्यस्ता फ्यान क्लब नक्कली हुन् वा ती ग्रुप खोल्नुको केही स्वार्थ बाँझिएको हुन्छ । वा, कसैले राम्रै नियतले खोलेको भएपनि पछि उसले ग्रुपमा चासो नदिँदा फेसबक ग्रुपमा स्क्याम लाइभ देखिन सक्छ । त्यसैले अनावश्यक पोस्ट हुने फेसबुक ग्रुप लिभ गर्नुहोस् ।

दोस्रो कुरा, फेसबुक लाइभ हेरेको भरमा वा त्यस्ता ब्लर नम्बरहरू पत्ता लगाएको अवस्थामा कसैले पनि त्यत्तिकै पुरस्कार दिँदैन । त्यस्तै लाइभमा बोलिएको कुरा एउटा हुन्छ माथि लेखिएको कुरा अर्कै हुन्छ । तालमेल नमिलेका कुराहरूको भर पर्नु हुँदैन ।

त्यस्तै बालेन शाह वा हर्क साम्पाङको अकाउन्ट वा फेसबुक पेजबाट कहिल्यै पनि तपाईंलाई १० लाख वा २० लाख उपहार पर्‍यो भनेर लिङ्क सहितको मेसेज आउँदैन । यसरी सामान्य कुराहरू विचार गर्दा यस्ता घटनाबाट बच्न सकिन्छ ।

Author

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित समाचार

- Advertisment -spot_img

धेरै पढिएका

spot_img
0
Would love your thoughts, please comment.x
()
x