नेप्से २९६२ अंकमा कायम, व्यापार र विकास बैंक समूह ३%भन्दा बढीले उकालो


नेप्से २९६२ अंकमा कायम, व्यापार र विकास बैंक समूह ३%भन्दा बढीले उकालो
  • लाल मोहर
  • श्रावण १३, २०८२

१२ साउन, काठमाडौं । नेपाली सेयर बजारमा सोमबार पनि गिरावटको क्रम जारी रह्यो। नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२ अंकमा सीमित भयो। कारोबारको अन्तिम १५ मिनेटमा भारित औसत मूल्य समायोजन नहुँदासम्म बजारमा १२ अंकको वृद्धि देखिएको थियो। तर समायोजनपछि परिसूचक पुनः घट्दै रातो संकेतमा बन्द भयो। अघिल्लो दिन आइतबार नेप्से १८.४४ अंकले घटेको थियो।

कारोबार खुलेसँगै बजार दबाबमा रह्यो र दिउँसो १२:३८ बजेसम्म नेप्से २९१८ अंकसम्म झर्दै दिनकै न्यूनतम विन्दुमा पुगेको थियो। त्यसपछि बजार केही सम्हालिएको देखिए पनि उतारचढावबीच अन्त्यमा बजार सानो अंकले घटेर बन्द भयो। कारोबार रकममा पनि उल्लेखनीय गिरावट देखिएको छ। आइतबार २६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार १९ अर्ब ३६ करोड रुपैयाँमा सीमित रह्यो।

बजार समग्र रूपमा कमजोर देखिए पनि व्यापार र विकास बैंक समूहमा उल्लेखनीय उछाल आएको छ। व्यापार समूह ३.२४ प्रतिशतले बढ्दा विकास बैंक समूह ३.०४ प्रतिशतले उकालो लाग्यो। त्यसैगरी फाइनान्स समूह २.७५ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह १.७१ प्रतिशतले वृद्धि देखाए। तर अन्य धेरै समूहहरूमा गिरावट देखियो। बैंकिङ समूह ०.८९, होटल तथा पर्यटन ०.२८, हाइड्रोपावर ०.५०, लगानी ०.१०, जीवन बीमा ०.६६, माइक्रोफाइनान्स ०.३३, निर्जीवन बीमा ०.७२ र अन्य समूह ०.७६ प्रतिशतले घटे।

दुई कम्पनीका सेयर मूल्यमा उल्लेखनीय १० प्रतिशतको वृद्धि देखिएको छ। समता घरेलु लघुवित्त र सान्भी इनर्जी कम्पनीका सेयर मूल्यमा लगातार दोस्रो दिन पनि १० प्रतिशतको वृद्धि भएको हो। सान्भी इनर्जीको प्रतिकित्ता मूल्य बढ्दै ६९८.६२ रुपैयाँमा पुगेको छ। त्यस्तै ट्रेड टावरको मूल्य पनि ९.५३ प्रतिशतले उकालो लाग्दै ७८०.९४ रुपैयाँमा पुगेको छ। यसैगरी, हिमालयन डिस्टिलरीको मूल्य ५.८० प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकको मूल्य ५.७३ प्रतिशतले बढेको छ।

तर केही कम्पनीको सेयर मूल्यमा गिरावट पनि देखिएको छ। विन्ध्यबासिनी हाइड्रोपावर ८.४९ प्रतिशतले घट्दा, ग्रिन भेन्चर्स ५.०८ र उन्नति सहकार्य लघुवित्त ४.४१ प्रतिशतले ओरालो लागे। सोमबार सेयर बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरूमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर, लुम्बिनी विकास बैंक र एचआईडीसीएल प्रोमोटर रहेका छन्। बजारको कुल पूँजीकरण ४९ खर्ब ४२ अर्ब रुपैयाँमा पुगेको छ।