पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले जेष्ठ नागरिकको स्वास्थ्य सेवामा उल्लेखनीय कदम चालेको छ। नगरपालिकाले बयोवृद्ध जेष्ठ नागरिकलाई घरदैलोमै पुगेर प्राथमिक उपचार सेवा प्रदान गर्न थालेको छ।
नगरप्रमुख शम्भुलाल श्रेष्ठको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोलीले ९५ वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई उपचारका साथै पौष्टिक आहार समेत उपलब्ध गराइरहेको छ। यस कार्यक्रमले अस्पतालसम्म पुग्न असमर्थ वा कठिनाई झेलिरहेका जेष्ठ नागरिकहरूलाई प्रत्यक्ष सेवा दिने उद्देश्य राखेको छ।
नगरप्रमुख श्रेष्ठका अनुसार, “बयोवृद्ध नागरिकहरूलाई अस्पताल जान समस्या हुने भएकाले घरमै पुगेर सेवा दिने योजना बनाइएको हो। यसबाट उनीहरूको स्वास्थ्यमा सुधार आउनुका साथै उनीहरूले समयमै आवश्यक उपचार पाउन सकून् भन्ने हाम्रो मुख्य उद्देश्य हो।”
यो कार्यक्रमलाई निरन्तरता दिने योजना पनि नगरपालिकाले बनाएको छ। प्रत्येक तीन महिनामा यस्तो सेवा उपलब्ध गराउने लक्ष्य रहेको छ, जसअन्तर्गत नगरपालिकाको टोलीले नियमित रूपमा जेष्ठ नागरिकको स्वास्थ्य जाँच तथा आवश्यक उपचार गर्नेछ।
घरमै उपचार पाएपछि जेष्ठ नागरिकहरूले खुसी प्रकट गरेका छन्। यो अभियानले स्थानीय समाजमा सकारात्मक प्रभाव पारेको छ। कार्यक्रममा नगरउपप्रमुख रुद्रप्रकाश उपाध्याय, सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालको सहभागीता रहेको थियो।
यस किसिमको सेवाले वृद्धावस्थामा रहेका नागरिकहरूको स्वास्थ्य र सुखद जीवनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।