दिव्यज्योति माध्यमिकमा शिक्षक तालिम: पेशागत विकासमा नयाँ पहल


दिव्यज्योति माध्यमिकमा शिक्षक तालिम: पेशागत विकासमा नयाँ पहल
  • लाल मोहर
  • जेष्ठ २५, २०८२

बर्दघाट, जेठ २४ –दिव्यज्योति माध्यमिक विद्यालय, बर्दघाट–२, नवलपरासीले आयोजना गरेको शिक्षक प्रोत्साहन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। शिक्षक–शिक्षिकाहरूको दक्षता र सिप विकासलाई केन्द्रमा राखेर सञ्चालित एकदिने तालिम बि.एण्ड.बि. कटेजमा सम्पन्न भएको हो।

तालिमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक रमेशकुमार कुवरले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनाबन्धु पाण्डे थिए। तालिममा बुटवल बहुमुखी क्याम्पसका उप–प्राध्यापक तथा राष्ट्रिय स्तरका प्रमाणित प्रशिक्षक डा. प्रकाश पौडेलले प्रमुख प्रशिक्षकका रूपमा सहकार्यात्मक शिक्षण विधिको विषयमा गहन सहजीकरण गरे।

उक्त कार्यक्रमले शिक्षकहरूको कक्षा व्यवस्थापन, विद्यार्थी सहभागिता बढाउने तरिका, र सहकार्यात्मक शिक्षण विधिको प्रभावकारी प्रयोगमा विशेष जोड दिएको थियो। सहभागी शिक्षक–शिक्षिकाहरूले प्रशिक्षणलाई अत्यन्त उपयोगी र प्रेरणादायी अनुभव भएको प्रतिक्रिया दिएका छन्।

विद्यालयका प्रधानाध्यापक कुवरले यस्ता कार्यक्रमले शिक्षकको पेशागत क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै भविष्यमा पनि निरन्तर यस्ता कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाए।