लागुऔषध बिरुद्दको अभियान

बर्दघाटका सामुदायिक विद्यालयमा लागू औषध दुर्व्यसनविरुद्धको सचेतना कार्यक्रम सम्पन्न

न्यूनीकरणका लागी विद्यालय, अभिभावक तथा समुदायबीच समन्वय आवश्यक : नगर प्रमुख शम्भुलाल श्रेष्ठ

बर्दघाटका सामुदायिक विद्यालयमा  लागू औषध दुर्व्यसनविरुद्धको सचेतना कार्यक्रम सम्पन्न

बर्दघाट, नवलपरासी (पश्चिम) — लागू औषध दुर्व्यसनविरुद्ध जनचेतना अभिवृद्धिका लागि बर्दघाट नगरपालिकाका  सामुदायिक विद्यालयमा सञ्चालन गरिएको सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालय (बर्दघाट–१२), दिव्यज्योति माध्यमिक विद्यालय (बर्दघाट–२ चिसापानी), राष्ट्रिय माध्यमिक विद्यालय (बर्दघाट–७) र दाउन्ने देवी माध्यमिक विद्यालय (बर्दघाट–४) मा सञ्चालन गरिएको थियो।

कार्यक्रमबाट बर्दघाट नगरका ३०० बिद्यार्थि लाभान्वित भएका छन ।समापन सत्र दाउन्ने देवी माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि शम्भुलाल श्रेष्ठले लागू औषधको प्रलोभनबाट युवालाई जोगाउन विद्यालयस्तरमै सचेतना फैलाउनु अत्यावश्यक रहेको उल्लेख गर्दै भन्नुभयो, “सकारात्मक सोच, अनुशासन र आत्मनियन्त्रणमार्फत मात्र लागू औषधको असरबाट बच्न सकिन्छ।”

उहाँले थप भन्नुभयो, “यसका लागि विद्यालय, अभिभावक तथा समुदायबीच समन्वय आवश्यक छ। युवाहरूलाई स्वास्थ्य, शिक्षा र सीपमुखी कार्यक्रममार्फत व्यस्त राखेमा उनीहरू गलत बाटोमा लाग्ने सम्भावना न्यून हुन्छ।” उहाँले विद्यालयहरूमा नियमित रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।

कार्यक्रममा निर्भाना फाउन्डेशनका सुबास रानाले लागू औषध दुर्व्यसनको आफ्नै अनुभव साझा गर्दै त्यसबाट मुक्त हुन अपनाइएका उपायहरूबारे विद्यार्थीहरूलाई जानकारी दिएका थिए।

चारै विद्यालयमा प्रशिक्षकका रूपमा जिल्ला प्रहरी कार्यालय, नवलपरासी (पश्चिम) का प्रहरी नायब निरीक्षक युवराज सलामी मगरको सक्रिय सहभागिता रहेको थियो। उहाँले लागू औषधका असर, कानुनी प्रावधान र रोकथामका उपायहरूबारे तथ्यपरक जानकारी प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रम लालमोहर मिडिया एन्ड एडभरटिजमेन्ट प्रा.लि.को आयोजनामा, बर्दघाट नगरपालिकाको सहयोग ,डेभलप नेपाल र जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमको  समन्वयमा सम्पन्न भएको हो।

विद्यार्थी, शिक्षक र अभिभावकहरूले यस्ता कार्यक्रमले युवाहरूमा जिम्मेवार सोच र आत्मअनुशासन विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

लेखकको बारेमा

  • उहाँ गणेश पाण्डे ‘सिसम’ Lalmohor.com का सह-सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल