बर्दघाट, वैशाख २६ – बर्दघाट नगरपालिका वडा नं. ७ को आयोजनामा श्री राष्ट्रिय माध्यमिक विद्यालय, बर्दघाट–७ मा आयोजित नगरस्तरीय हाजिरजवाफ प्रतियोगिता शुक्रबार उत्साहपूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा नगरभित्रका १८ सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूले सहभागी जनाएका थिए।
प्रतियोगितामा दिव्यज्योति माध्यमिक विद्यालय, बर्दघाट–२ ले प्रथम स्थान प्राप्त गर्दै नगद रु १०,०००, शिल्ड र प्रमाणपत्र प्राप्त गर्यो। ग्लोरियस एकेडेमी, बर्दघाट–४ ले द्वितीय स्थान प्राप्त गर्दै नगद रु ५,०००, शिल्ड र प्रमाणपत्र, भने विजडम बोर्डिङ स्कूल, बर्दघाट–७ ले तृतीय स्थान हात पार्दै नगद रु ३,०००, शिल्ड र प्रमाणपत्र प्राप्त गर्यो।
कार्यक्रमको अध्यक्षता वडा नं. ७ का वडाध्यक्ष ध्रुव थारु ले गर्नुभएको थियो। उहाँले कार्यक्रममा प्रतिबद्धता जनाउँदै भन्नुभयो:
“विद्यार्थीहरूमा समावेशी सोच, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुन्छन्। आगामी वर्षहरूमा पनि यस्ता प्रतियोगिता नियमित रूपमा गरिनेछ।”
यस अवसरमा वडाभित्र रहेका सामुदायिक विद्यालयमा नर्सरीदेखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरू मध्ये शैक्षिक वर्ष २०८१ मा उत्कृष्ट नतिजा ल्याउन सफल २६ जना छात्रछात्रालाई प्रत्येकलाई नगद रु १,५०० का दरले छात्रवृत्ति प्रदान गरिएको थियो।
कार्यक्रमको सफल संयोजन वडा सचिव टंकनाथ भण्डारीले गर्नुभएको थियो। उहाँले भन्नुभयो:
“शिक्षा क्षेत्रमा सशक्तीकरणका लागि वडाले निरन्तर कार्य गरिरहेको छ। यस्ता अवसरहरूले विद्यार्थीहरूलाई अझ प्रेरित बनाउँछन्।”
प्रतियोगिताले विद्यालयबीच आपसी सञ्जाल सुदृढ गर्नुका साथै विद्यार्थीहरूको ज्ञान, प्रस्तुति र टोली भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागी शिक्षक तथा अभिभावकहरूले बताए।