ध्वनि-प्रदूषण

साइलेंसरविहीन सवारी र हर्नको कोलाहलले बिद्यालय क्षेत्र अशान्त, साना बालबालिका त्रसित

बर्दघाटका विद्यालयमा ध्वनि प्रदूषण बढ्दै, तीव्र गतिमा मोटरसाइकल कुदाउने, साइलेंसर हटाउने र जथाभावी हर्न बजाउनेजस्ता गतिविधिले शिक्षण वातावरणमा गम्भीर असर परेको स्थानीयको गुनासो

साइलेंसरविहीन सवारी र हर्नको कोलाहलले बिद्यालय क्षेत्र अशान्त, साना बालबालिका त्रसित
  • लाल मोहर
  • जेष्ठ ३, २०८२

बर्दघाट, नवलपरासी — बर्दघाट नगरपालिका–४ मा अवस्थित दाउन्नेदेवी माध्यमिक विद्यालय नजिकैको सडकखण्डमा अनावश्यक ध्वनि प्रदूषण बढ्दै जाँदा साना बालबालिका त्रसित बन्न थालेका छन्। बर्दघाट नगरपालिकाको कार्यालयबाट करिब ४५० मिटरको दूरीमै रहेको विद्यालय क्षेत्र वरपर मोटरसाइकल तीव्र गतिमा चलाउने, जथाभावी हर्न बजाउने, र साइलेंसर हटाएर सवारी साधन कुदाउनेजस्ता गतिविधि खुलेआम भइरहेकाले विद्यालयको शिक्षण वातावरण दिनप्रतिदिन प्रतिकूल बन्दै गएको अभिभावक, शिक्षक तथा स्थानीयवासीको गुनासो छ।

विद्यालयका लेखापाल मनोज घिमिरेका अनुसार, यस्तो अवस्थाको जानकारी केही महिना अघि नै इलाका प्रहरी कार्यालय बर्दघाटलाई दिइएको थियो। तर, अहिलेसम्म उचित व्यवस्थापन हुन नसकेको उनले बताए। “ध्वनि प्रदूषणका कारण साना बालबालिका डराउँछन्, पढाइमा ध्यान दिन सक्दैनन्,” घिमिरेले भने, “अभिभावकहरू पनि नियमित रूपमा गुनासो गर्नुहुन्छ। तीव्र गतिमा सवारी कुद्दा बालबालिकाको सुरक्षामासमेत जोखिम बढेको छ।”

विद्यालय क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा कायम गर्नुपर्ने सरकारी नीति तथा सामाजिक उत्तरदायित्वका बाबजुद, सडक प्रयोगकर्ताले यस्ता नियम उल्लंघन गर्नु चिन्ताजनक भएको स्थानीयको भनाइ छ। शिक्षकमध्ये एक जनाले भने, “ध्वनि प्रदूषणले बालबालिकाको मानसिक स्वास्थ्यमा असर पारेको छ। उनीहरू डराउने, त्रसित हुने र ध्यान केन्द्रित गर्न नसक्ने अवस्था सिर्जना भएको छ।”

इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र बानियाले लालमोहर टिमसँगको कुराकानीमा भने, “सूचना प्राप्त हुनासाथ घटनास्थलमा पुग्दा सम्बन्धित व्यक्तिसँग भेट हुन सकेको छैन। विद्यालय प्रशासन र स्थानीयलाई समेत सम्बन्धित सवारीको नम्बर टिपाइदिन आग्रह गर्दा उनीहरू अफ्ठ्यारो मान्ने गरेका छन्।” उनले थपे, “त्यहाँ रहेको सिसी क्यामेराबाट निरिक्षण गर्ने प्रयास जारी छ र सोही क्षेत्रमा निरिक्षणलाई अझ तीव्र बनाइएको छ।” इन्सपेक्टर बानियाका अनुसार, अन्य स्थानहरूमा यस्तै किसिमको ध्वनि प्रदूषण गर्ने सवारीधनीहरूलाई कारबाही गरिसकिएको छ र उक्त विद्यालय आसपास ध्वनि प्रदूषण गर्ने जोसुकैलाई पनि कानुनी कारबाही गर्न कुनै कसर बाँकी नराखिने कुरा दोहोऱ्याय ।

देशका विभिन्न सहर तथा स्थानहरूमा ट्राफिक प्रहरी र स्थानीय निकायको संयुक्त प्रयासमा यस्ता गतिविधि नियन्त्रणमा ल्याउने प्रयास भइरहे पनि बर्दघाटमा भने सो सम्बन्धमा अपेक्षित गम्भीरता नदेखिएको स्थानीयवासीको आरोप छ। उनीहरूले अब नगरपालिका, इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरीलाई आवश्यक कदम चाल्न आग्रह गर्दै विद्यालय वरपर शान्त र सुरक्षित वातावरण सुनिश्चित गर्न कानुनी कडाइ गर्न माग गरेका छन्।

नेपालमा पर्यावरण संरक्षण ऐन, ट्राफिक नियमहरू तथा स्थानीय सरकारका अधिकारहरू अन्तर्गत विद्यालय क्षेत्र वरपर अनावश्यक ध्वनि प्रदूषण रोक्न कानुनी व्यवस्था छ। विद्यालय क्षेत्रलाई शान्त क्षेत्र घोषणा गरिएको हुँदा, अनावश्यक हर्न बजाउने, साइलेंसर हटाउने, वा उच्च ध्वनि उत्सर्जन गर्ने सवारीसाधन सञ्चालन गर्दा सम्बन्धित निकायले कारबाही गर्न सक्ने अधिकार राख्दछन्। अभिभावक, शिक्षक वा स्थानीयवासीले प्रहरी तथा नगरपालिका कार्यालयमा औपचारिक उजुरी दिंदा पनि कानुनी कारबाही सुनिश्चित गर्न सकिने व्यवस्था रहेको छ।