बाल क्लव निर्वाचन

सिद्धज्योती बाल क्लबको वार्षिक अधिवेशन सुरु, निर्वाचन जेष्ठ ४ गते


सिद्धज्योती बाल क्लबको वार्षिक अधिवेशन सुरु, निर्वाचन जेष्ठ ४ गते
  • लाल मोहर
  • जेष्ठ २, २०८२

बर्दघाट–१६, जेष्ठ १ (बिहीबार) — बर्दघाट नगरपालिका वडा नं. १६ स्थित सिद्धज्योती आधारभूत विद्यालयमा आज सिद्धज्योती बाल क्लबको वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक एवं निर्वाचन अधिकृत गोविन्द प्रसाद चौधरीले निर्वाचन प्रक्रियाको नेतृत्व गर्दै उम्मेदवारी दर्ताका लागि आह्वान गर्नुभएको थियो।

अध्यक्ष पदका लागि प्रिया बिक, सोमिया नेपाली, रोशन प्रटेल र युनिस मियाले मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्ष पदमा प्रिया रसाइली, प्रिन्स कुमाल, सामेल थापा र स्वतिका सार्की उम्मेदवार बनेका छन्। सचिव पदमा नविना यादव र आइज्याक तामाङको उम्मेदवारी परेको छ भने सह-सचिव पदमा रोजिना नेपाली, हिमाली गुरूङ्ग र गौतम तामाङ प्रतिस्पर्धामा छन्।

सदस्य पदका लागि करिब नौ जना विद्यार्थी — सृष्टि बिक, संचित थापा, विमला बिक, सन्ध्या सारू मगर, विनिसा गुरूङ्ग, आकृति राई, ज्योति क्षेत्री, लक्की तामाङ र कोशिष गुरूङ्गले उम्मेदवारी दिएका छन्। यस पदमा पाँच जना प्रतिनिधि चयन गरिनेछ।

निर्वाचन जेष्ठ ४ गते आइतबार दिउँसो २ बजे सञ्चालन हुनेछ भने उम्मेदवारी फिर्ता गर्ने समय त्यसै दिन दिउँसो १२ बजे सम्म तोकिएको छ। कार्यक्रममा करिब ९० जना विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। बालबालिकाको यो सक्रिय सहभागिताले विद्यालयमा लोकतान्त्रिक अभ्यास र नेतृत्व विकासको सशक्त माहोल निर्माण भइरहेको संकेत दिएको छ।