युवराज चापागाई
आदरणीय उम्मेदवारज्यूहरू,
यो खुला पत्र कुनै दल वा व्यक्ति विशेषलाई लक्षित आरोप होइन, बर्दघाटका आम नागरिकको साझा विवेकबाट उठेको तर्किक प्रश्न हो। चुनाव नजिकिँदै गर्दा फेरि उही दृश्य देखिन्छ । माइक, नाराबाजी, भीड, पोस्टर र बहसको ठूलो भाग “उसले बिगार्यो” भन्ने दोषारोपणमा खर्चिएको। तर बर्दघाटबासीको आजको अपेक्षा सरल छ,तपाईंहरू ‘अरूले के बिगार्यो, भनेर बताउन होइन, ‘म यसरी सच्याउँछु, भन्ने स्पष्ट, मापनयोग्य र समयसीमासहितको खाका लिएर आउनुहोस्। विकासको भाषा भावनात्मक घोषणाले होइन, समस्या समाधान स्रोत समय मापन जवाफदेहिता भन्ने आधारभूत तर्कले चल्छ। त्यसैले यो पत्र “भावना” होइन, “तर्क”का आधारमा तपाईंहरूको तयारी कति छ भनेर बुझ्नका लागि हो।
बर्दघाटको चुनौती केवल सडक, ढल वा भवनमा सीमित छैन; संरचनाभन्दा ठूलो प्रश्न “मान्छेमा लगानी” हो, विशेष गरी शिक्षा क्षेत्रमा। बोलीमा कार्यक्रम र तालिम देखिए पनि कक्षाकोठामा सिकाइको गुणस्तर, शिक्षकको निरन्तर क्षमता विकास, कमजोर विद्यार्थीलाई साथ समर्थन र ‘किन कसरी? भन्ने आलोचनात्मक सोचको अभ्यास अझै पर्याप्त छैन। अझ पीडादायी वास्तविकता त के छ भने पहाडी भेगका धेरै बालबालिका पढ्नका लागि आमाको काँख छोडेर हप्तौँ बाहिर बस्न बाध्य छन कसैले नातेदारको घरमा अतिथि भएर, कसैले विद्यालयछेउको कोठामा, कसैले टाढा टाढा बसेर पढ्न। कतिपय बालबालिका निउरो बेचेर, सानो काम गरेर कापी कलम, युनिफर्म र शुल्क जुटाउँछन्। यो दया माग्ने कथा होइन; यो अवसरको असमानता हो। अवसर असमान हुँदा समाजले एक विद्यार्थी मात्र होइन, भविष्यको एक सम्भावना गुमाउँछ।
त्यसैले उम्मेदवारज्यू, तपाईंको घोषणापत्रमा शिक्षा सुधार “भावुक वाचा” होइन, समाधानको ठोस ब्लूप्रिन्ट भएर देखिनुपर्छ।
बर्दघाटको अर्को ठूलो रोग “समस्या” भन्दा पनि “निरन्तरता तोड्ने बानी” हो। नेतृत्व फेरिनेबित्तिकै पुराना कार्यक्रममा लगाब नदीने, नयाँ नाम राखेर सुरु गर्ने, अनि अर्को नेतृत्व आउँदा फेरि त्यही चक्र दोहोरिने,यसले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, सामाजिक सुरक्षा जस्ता दीर्घकालीन कामहरूलाई बारम्बार अलपत्र पार्छ। विकास र सुधार भनेको रिले दौड जस्तो हो; अघिल्लोले छोडेको लठ्ठी समातेर अर्कोले अझ छिटो र सही दिशामा कुद्नुपर्छ। तर हामीकहाँ नयाँ आउनेले पुरानो बाटो नै भत्काउन खोज्दा योजना बीचमै रोकिन्छ, बजेट छरिन्छ र नागरिकको भरोसा खिइन्छ। त्यसैले हामी तपाईंहरूसँग “अपनत्व, निरन्तरता र नवीनता” भन्ने नीति माग्छौ, विगतका राम्रा कामलाई “अरूको” भनेर नछोड्ने, त्यसलाई निरन्तरता दिने, अनि कमजोर पक्ष सुधार्न नयाँ सोच र प्रविधि जोड्ने।
अब हामी तपाईंहरूबाट मापनयोग्य प्रतिबद्धता चाहन्छौँ,भाषणमा होइन, सार्वजनिक र लिखित रूपमा।
पहिलो, शिक्षा क्षेत्रमा पहिलो १०० दिनमै विद्यालय स्तर सिकाइ उपलब्धिको आधाररेखा बनाउने, शिक्षकका लागि नियमित मेंटरिंग सुरु गर्ने, कमजोर विद्यार्थीका लागि निदानात्मक कक्षा व्यवस्था गर्ने, पहाडी विद्यार्थीका लागि सुरक्षित बसाइ वा यातायात सहयोग को पाइलट कार्यक्रम ल्याउने, र उपस्थिती तथा ड्रपआउट घटाउने स्पष्ट योजना देखाउनुहोस्।
दोस्रो, आमाको काँख छोडेर हप्तौँ बाहिर बस्नुपर्ने बालबालिकाको समस्या “दया” होइन नीति र बजेटले हल गर्नुहोस् ,सुरक्षित निगरानी भएको बसाइ, छात्रवृत्ति, अभिभावक सम्पर्क संयन्त्र, तथा मानसिक सामाजिक परामर्शजस्ता उपायहरू घोषणापत्रमा राख्नुहोस्।
तेस्रो, “निउरो बेचेर पढ्ने” अवस्थाको अन्त्यका लागि न्यूनतम शिक्षा सहयोग प्याकेज र स्थानीय स्रोत परिचालनलाई भ्रष्टाचार रहित मोडेलमार्फत लागू गर्ने उपाय लेख्नुहोस्।
चौथो, शिक्षा सुधारलाई स्वास्थ्य, पानी, सरसफाइ र पोषणसँग जोड्नुहोस् ,भोकै बच्चाले सिक्दैन; सुरक्षित पानी, शौचालय, हातधुने सुविधा र विद्यालय स्वास्थ्य जाँचलाई बजेट लाइनमै सुनिश्चित गर्नुहोस्।
पाँचौँ, पारदर्शिता र जवाफदेहिता बिना कुनै योजना टिक्दैन ,त्रैमासिक सार्वजनिक प्रगति प्रतिवेदन, सामाजिक अडिट, नागरिक सहभागी मूल्याङ्कन, र बजेट खर्चको खुला विवरणलाई अनिवार्य प्रणाली बनाउने प्रतिबद्धता दिनुहोस्।
अनि एउटा निर्णायक प्रश्न ?? “कुरेर बस्ने विकास”ले के योगदान गर्छ? योगदान गर्दैन। विकास कुर्दै आउँदैन; विकासलाई व्यवस्थापन गर्नुपर्छ, नेतृत्वले जिम्मा लिनुपर्छ। नागरिकले तपाईंलाई मत दिन्छन भने त्यो मत भक्तिको टिकट होइन,काम देखाउने ठेक्का हो। त्यसैले हामी तपाईंहरूलाई चुनौती दिन्छौँ । कम्तीमा एक पटक खुला बहस गर्नुहोस्, जहाँ समस्या के हो, समाधान के हो, लागत,स्रोत कहाँबाट आउँछ, समयसीमा के हो, र सफलताका सूचक के हुन् भनेर स्पष्ट बोल्नुस्। “हामी विकास गर्छौँ” भन्ने वाक्य सबैले भन्छन्; फरक त्यहीँ देखिन्छ जहाँ तपाईंले खर्च क्यालेन्डर सूचक जिम्मेवारी प्रस्तुत गर्न सक्नुहुन्छ कि सक्नुहुन्न।
अन्ततः, बर्दघाटलाई आज गाली गर्ने नेता होइन, समस्या स्वीकारेर समाधान खोज्ने अभिभावक नेतृत्व चाहिएको छ। कृपया आफ्नो भाषणबाट दोषारोपण घटाउनुहोस्, योजना बढाउनुहोस्; कागजमा मात्र होइन, काम गर्ने शैलीमै अपनत्व,निरन्तरता नवीनता उतार्नुहोस्। सम्झनुहोस् ,हामी तपाईंको पोस्टर हेरेर होइन, तपाईंको तर्क, खाका र जवाफदेहिता हेरेर निर्णय गर्दैछौँ। बर्दघाटलाई भाषण होइन, नक्सा चाहिएको छ; उसले बिगार्यो, होइन म यसरी सच्याउँछु भन्ने प्रमाणित मार्गचित्र चाहिएको छ।
हजूरको एक मतदाता !!!!
