बर्दघाट, बैशाख २८ — राष्ट्रिय माध्यमिक विद्यालय बर्दघाटमा बाल क्लबकाे नयाँ नेतृत्व चयनकाे लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। विद्यार्थीहरूको उत्साहजनक सहभागितासहित हुने यो निर्वाचनमा अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदमा प्रतिस्पर्धा चुलिएको छ।
बाल क्लब अध्यक्ष पदका लागि कक्षा ९ का विद्यार्थी सागर लामिछाने र दिक्षा पाण्डेबीच प्रतिष्पर्धा हुने भएको छ। दुवैले आफूलाई योग्य र जिम्मेवार उम्मेदवार भन्दै विद्यार्थीहरूकाे माझमा मत मागेका छन्। उपाध्यक्ष पदमा आकृति पन्थी, गोपाल ज्ञवाली, प्रमिस भट्टराइ र युना भट्टराइले उम्मेदवारी दिएका छन्। चारै जना उम्मेदवारले आफ्ना योजना र प्रतिबद्धता सार्वजनिक गर्दै विद्यार्थीहरूसँग संवाद गरेका छन्।
सचिव पदमा आनन्दी नेपाल सर्वसम्मत निर्वाचित भएकी छन्। विगतमा पनि बाल क्लबका गतिविधिमा सक्रिय रहेकी आनन्दीले भनिन्, “यो जिम्मेवारी पाएकोमा म आभारी छु। अब अझ प्रभावकारी ढंगले काम गर्नेछु।” सहसचिव पदका लागि सम्झना थारू, प्रशन्न श्रेष्ठ, संकेत अधिकारी, गुरास काउचा र सफिदुन निशाबीच प्रतिस्पर्धा हुँदैछ।सदस्य पदमा पाँच सिटका लागि आठ जना उम्मेदवार छन्: एन्जल कलवार, रासिका थारू, आर्नव शर्मा, कृष्ण खराल, विद्या चौधरी, अस्मिता हरिजन, रोहित थारू र सोनिया सुनार बि.क।
कक्षा ५ देखि १० सम्म अध्ययनरत २३३ जना विद्यार्थीले मतदान गर्नेछन्। मतदान यही जेष्ठ २ गते शुक्रबार दिउँसो १२ बजेदेखि सुरु हुनेछ र तीनवटा मतदान बुथबाट प्रक्रिया सम्पन्न गरिनेछ।
विद्यालयका प्रधानाध्यापक एवं निर्वाचन अधिकृत शेषकान्त पौडेलले बाल क्लब निर्वाचनले विद्यार्थीमा अभिव्यक्ति क्षमता र नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।बाल क्लब निर्वाचनले विद्यालयमा लोकतान्त्रिक अभ्यासको बलियो आधार बनाउँदै गएको छ। विद्यार्थीहरूको यस्तो सहभागिता भविष्यमा जिम्मेवार नागरिक निर्माणतर्फको सकारात्मक संकेत हो।