बर्दघाट नगरमा लागू औषध दुर्व्यसनविरुद्ध चरणबद्ध सचेतना अभियान सुरु

बर्दघाट नगर क्षेत्रमा लागू औषध दुर्व्यसनको बढ्दो प्रभावलाई रोक्न विद्यालयस्तरमै सशक्त जनचेतना कार्यक्रम सञ्चालन भइरहेको छ।

बर्दघाट नगरमा लागू औषध दुर्व्यसनविरुद्ध चरणबद्ध सचेतना अभियान सुरु

बर्दघाट, नवलपरासी (पश्चिम) — लागू औषध दुर्व्यसन जस्तो गम्भीर सामाजिक समस्याको विरुद्धमा जनस्तरमा चेतना फैलाउने उद्देश्यले बर्दघाट नगरपालिकाका बिभिन्न  सामुदायिक विद्यालयमा लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदैछ।

कार्यक्रमको पहिलो चरण अन्तर्गत नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालय (बर्दघाट–१२) र दिव्यज्योति माध्यमिक विद्यालय (बर्दघाट–२, चिसापानी) मा कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेका छन्। बाँकी विद्यालयमा भने आउँदो आइतबारसम्म क्रमशः कार्यक्रम सञ्चालन हुने आयोजक संस्थाले जानकारी दिएको छ।

कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्याय थिए। उनले विद्यालयस्तरबाटै लागू औषध विरुद्धको सचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याउँदै भने, “युवाहरू राष्ट्र निर्माणका मेरुदण्ड हुन्। लागू औषधले उनीहरूको भविष्य मात्र होइन, सिङ्गो समाजको विकासमा समेत अवरोध पुर्‍याउँछ।”

कार्यक्रमको अध्यक्षता लालमोहर मिडिया एन्ड एडभरटिजमेन्ट प्रा.लि. का अध्यक्ष रविन शर्मा चापागाईं ले गरेका थिए ।
सहजकर्ताको भूमिकामा जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमका प्रहरी नायब निरीक्षक युवराज सलामी मगर  र इलाका प्रहरी कार्यालय सेमरीका प्रहरी सहायक निरीक्षक हरि बहादुर अधिकारी ले विद्यार्थीहरूलाई लागू औषधका असर, रोकथामका उपाय तथा कानुनी जानकारी प्रदान गरे।

सचेतना कार्यक्रम लालमोहर मिडिया एन्ड एडभरटिजमेन्ट प्रा.लि. को आयोजनामा, बर्दघाट नगरपालिकाको सहयोग र डेभलप नेपाल को समन्वयमा सञ्चालन गरिएको हो।

आयोजक संस्थाका अनुसार, बर्दघाट नगर क्षेत्रका बिभिन्न सामुदायिक विद्यालयमा चरणबद्ध रूपमा लागू औषधविरुद्धको सचेतना अभियान सञ्चालन गर्ने लक्ष्य राखिएको छ। 

लेखकको बारेमा

  • उहाँ गणेश पाण्डे ‘सिसम’ Lalmohor.com का सह-सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल