बर्दघाट, नवलपरासी (पश्चिम) – बर्दघाट नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट, नीति तथा कार्यक्रम निर्माणकाे पूर्वतयारी स्वरूप सर्वसाधारणबाट राय, सुझाव संकलन प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। नगरपालिकाले सूचना प्रकाशित गर्दै सम्पूर्ण राजनीतिक दल, संघसंस्था, व्यवसायी, समाजसेवी, बुद्धिजीवी, किसान, कर्मचारी तथा आम नागरिकलाई सुझाव पेश गर्न अनुरोध गरेको छ।
सुझाव पेश गर्न चाहनेले २०८२ साल जेठ १० गतेसम्म आफ्नो राय/सुझाव ईमेल (bardaghatmunicipality@gmail.com) वा नगरपालिकाको योजना शाखामा प्रत्यक्ष उपस्थित भई दिन सक्नेछन्।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले भन्नुभयो, “स्थानीय सरकार जनताको सरकार हो। त्यसैले नीति तथा बजेट निर्माणमा नागरिकको आवाज समावेश हुनु अत्यावश्यक छ। हामी जनताको आवश्यकताको पहिचानमा आधारित कार्यक्रम ल्याउनेछौं।”
उपप्रमुख रुद्र प्रकाश उपाध्यायले भने, “नगरको समावेशी विकासका लागि सबै क्षेत्र र वर्गको सुझाव महत्त्वपूर्ण हुन्छ। हामी चाहन्छौं– यो बजेट सहभागी र परिणाममुखी होस्।”
प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जोड दिंदै भन्नुभयो, “बजेट निर्माण केवल प्रशासनिक प्रक्रिया मात्र होइन, जनताको आकांक्षा सम्बोधन गर्ने माध्यम हो। नगरवासीहरूबाट प्राप्त सुझावहरूलाई गम्भीरतापूर्वक समेटिनेछ।”
बर्दघाट नगरपालिकाले बजेट निर्माण प्रक्रियालाई पारदर्शी, समावेशी र जनउत्तरदायी बनाउने प्रतिबद्धता जनाएको छ।