मुगु, बैशाख २२ – कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रको संरक्षण र व्यवस्थापन थप प्रभावकारी बनाउने उद्देश्यका साथ रारा राष्ट्रिय निकुञ्जमा पहिलोपटक राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) को शाखा कार्यालय स्थापना गरिएको छ।
सोमबार एक विशेष समारोहबीच वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले उक्त कार्यालयको औपचारिक उद्घाटन गरे। उद्घाटन समारोहमा मन्त्री शाहीले रारा क्षेत्रको जैविक विविधता, वन तथा वन्यजन्तु संरक्षण र वातावरणीय सन्तुलनलाई कायम राख्न कोषको भूमिकालाई महत्वपूर्ण रहेको बताए। उनले भने, “अब यो कार्यालयमार्फत संरक्षण, अनुसन्धान र विकासका गतिविधिहरू थप प्रभावकारी ढंगले अघि बढ्नेछन्।”
कर्णाली प्रदेशमा कोषको यो पहिलो शाखा कार्यालय हो। जलवायु परिवर्तनका चुनौतीहरू झेलिरहेका दुर्गम क्षेत्रहरूमा दीर्घकालीन समाधानका लागि यो कार्यालयले पहल गर्ने अपेक्षा गरिएको छ। मन्त्री शाहीले सरकारको प्राथमिकतामा रहेको प्रकृति संरक्षण कार्यलाई अझ मजबुत बनाउने दिशामा यो कदम रहेको स्पष्ट पारे।
समारोहमा प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, जिल्ला समन्वय समिति मुगुका संयोजक मञ्जनबहादुर कार्की, छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भाम, सोरु गाउँपालिकाका अध्यक्ष केशरजंग शाही, कोषका सदस्य–सचिव डा. नरेश सुवेदी, रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर रावल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय बासिन्दाहरूले शाखा कार्यालयको स्थापना भएकोमा खुशी व्यक्त गरेका छन्। उनीहरूले अब रारा क्षेत्रको संरक्षण कार्य थप व्यवस्थित, दिगो र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।