बर्दघाटमा नगरस्तरीय हाजिरिजवाफ प्रतियोगिता हुने


बर्दघाटमा नगरस्तरीय हाजिरिजवाफ प्रतियोगिता हुने

बर्दघाट, बैशाख २३ – बर्दघाट नगरपालिका वडा नं. ७ को आयोजनामा आगामी २०८२ साल बैशाख २६ गते शुक्रबार बर्दघाट नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूबीच नगरस्तरीय हाजिरिजवाफ प्रतियोगिता आयोजना गरिने भएको छ। कार्यक्रम बर्दघाट–७ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको सभा हलमा बिहान ११:०० बजे सुरु हुनेछ।

वडाले दिएको जानकारी अनुसार प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी हुन पाउने छन्। हरेक विद्यालयबाट तीन जनाको एक समूह, जसमा कम्तीमा एक जना छात्रा अनिवार्य हुने शर्त रहेको छ। इच्छुक विद्यालयहरूले सहभागी टोलीको नाम २०८२ बैशाख २५ गते बिहीबार, कार्यालय समयभित्र वडा कार्यालयमा दर्ता गराइसक्नुपर्नेछ।

प्रतियोगिताको उद्देश्य विद्यालयस्तरीय अन्तरक्रियात्मक वातावरण निर्माण गर्दै विद्यार्थीहरूमा आत्मविश्वास, प्रस्तुतीकरण सीप र सहकार्य गर्ने बानी विकास गर्नु रहेको छ। प्रतियोगितामा नेपालको इतिहास, भूगोल, धर्म–संस्कृति, विज्ञान–प्रविधि, खेलकुद र सामाजिक विषयमा आधारित प्रश्नहरू समावेश हुने छन्।

प्रतिस्पर्धा दुई चरणमा सञ्चालन हुनेछ – पहिलो चरण वस्तुगत (MCQ) प्रश्नहरूमा आधारित हुनेछ भने दोस्रो चरणमा उत्कृष्ट ८ समूहलाई छनोट गरी  प्रतिस्पर्धा गराइनेछ।

बर्दघाट नगरपालिका भित्रका सवै सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूलाई प्रतियोगितामा सहभागी हुन औपचारिक पत्रमार्फत निमन्त्रणा गरिसकिएको वडा कार्यालयले जनाएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई क्रमशः रु १०,०००, रु ५,००० र रु ३,००० राशिको नगद पुरस्कार प्रदान गरिनेछ।

नगरका सबै विद्यालयलाई समयमै तयारी गर्न र सक्रिय सहभागिता जनाउन वडा कार्यालयले हार्दिक अनुरोध गरेको छ।

लेखकको बारेमा

  • उहाँ गणेश पाण्डे ‘सिसम’ Lalmohor.com का सह-सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल