बर्दघाट (नवलपरासी)–दुम्किबास खण्डको दाउन्ने सडक पुनः अवरुद्ध भएको छ। रातीदेखि परिरहेको सिमसिम पानीका कारण घिउखोला क्षेत्रमा सडक चिप्लिएर आइतवार बिहानैदेखि सवारी आवागमन पूर्णरूपमा ठप्प भएको हो।
इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार उकालो क्षेत्रमा सवारी चढ्न नसक्ने र ओरालोमा फिसलिने जोखिमका कारण दुम्किबास–ज्यामिरे र बर्दघाट क्षेत्रमै सवारी रोकिन बाध्य भएको हो। यात्रु र मालवाहक सवारी साधनहरु लामबद्ध छन्।
हाल दाउन्ने सडकखण्डमा बैशाख महिनाको अन्तिमसम्म रातको ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी रोक्दै सडक निर्माण कार्य भइरहेको छ। यद्यपि, निर्माण कार्यको क्रममा समेत सामान्य पानीले सडक पूर्णरूपमा अस्थिर बनाउनुले निर्माणको गुणस्तर र व्यवस्थापन क्षमताप्रति गम्भीर प्रश्न उठाएको छ।
सडकको माथिल्लो माटोको तह हटाएर काम भइरहेको भए पनि जलनियन्त्रण र सतह मजबुतीकरणमा ध्यान नदिँदा प्रत्येक पटक सामान्य वर्षाले सडक सवारी अयोग्य बनाउने अवस्था दोहोरिरहेको छ।
स्थानीयहरू सडकको दीर्घकालीन सुधारको माग गर्दै आएका छन्। “बर्षेनी यही समस्या हुन्छ, निर्माणको नाममा थोपिएको असुविधा मात्र हो यो,” एक स्थानीय व्यापारीले भने।
दाउन्ने सडक बुटवल–नारायणघाट राजमार्गको मुख्य खण्ड हो। यस सडकको गुणस्तरीय निर्माण, जलनिकास प्रणालीको सुधार, र निर्माण अवधिमा वैकल्पिक सवारी व्यवस्थापन नहुँदा यातायात जाम, दुर्घटना जोखिम र यात्रु सास्ती बढ्दो छ।
सडक निर्माण भइरहेको बेला समेत सामान्य वर्षाले सडक अवरुद्ध हुनु राज्यको पूर्वाधार निर्माणको कमजोर योजना र प्राविधिक लापरवाहीको द्योतक हो। सम्बन्धित निकायहरूले अब ढिलो नगरी दीर्घकालीन समाधानमा ध्यान दिनुपर्छ, नत्र हरेक सिजन यो समस्या दोहोरिँदै जानेछ।