बर्दघाट — बर्दघाटस्थित राष्ट्रिय माध्यमिक विद्यालय (राष्ट्रिय मावि) बाल क्लबको अन्तिम सञ्चालक समितिको बैठक आज सम्पन्न भएको छ। बैठकले नयाँ नेतृत्व चयन गर्न आगामी वैशाख २६ गते निर्वाचनको मिति तय गरेको हो।
क्लबका अध्यक्ष असीम अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा वर्षभरि सञ्चालन गरिएका गतिविधिहरूको समीक्षा गरिएको थियो। सहभागी सदस्यहरूले बाल क्लबमा सक्रिय रहँदा उल्लेखनीय उपलब्धिहरू हासिल भएको बताए ।
बाल क्लबकी सचिव जेनिशा भट्टराईले भनिन्,
“किताबमा मात्र पढिने बाल अधिकारहरू व्यवहारमा लागू गर्दा वास्तविक अनुभूति भएको छ। अब यी अनुभवहरू नयाँ नेतृत्वलाई सिकाएर क्लब अझ सशक्त बनाउनेछौं।”
बैठकमा सदस्यहरूले बाल क्लबको भूमिकाले विद्यालयमा नेतृत्व विकास, आत्मविश्वास र कर्तव्यबोधमा उल्लेखनीय योगदान दिएको बताएका थिए।
एक सदस्यले भने, “विद्यालयले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनु र आफैं कार्यक्रम आयोजना गर्नुमा ठूलो फरक रहेछ। आफ्नै कार्यक्रम गर्दा चुनौतीसँग जुध्न र जिम्मेवारी लिन सिकियो।”
समीक्षा बैठकमा बाल मित्र शिक्षक, प्रधानध्यापक, सम्पूर्ण शिक्षकहरू, शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति, नगरपालिका तथा विद्यालयमा सञ्चालित गुणस्तरीय शिक्षा परियोजनाका साझेदार संस्था स्कूल लाइफ इन नेपाल (डेनमार्क) र समृद्ध समुदाय विकास केन्द्र नेपाल (रुपन्देही) ले बाल क्लबलाई प्रदान गरेको विभिन्न तालिम तथा कार्यक्रमको सहयोगको चर्चा र आभार व्यक्त गरिएको थियो।
अध्यक्ष असीम अधिकारीले बैठक समापन गर्दै भने, “वर्षभरि बाल क्लबका गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु। आगामी निर्वाचनमा पनि सबैको सहकार्य र समर्थन को अपेक्षा गरेका छौं।”