नवलपरासी (पश्चिम), २०८२ वैशाख १९ — “साइबर सुरक्षित समाज निर्माणका लागि युवा साइबर सुरक्षा अभिमुखिकरण” भन्ने मूल नाराका साथ क्यान महासंघ, नवलपरासी (पश्चिम) द्वारा राष्ट्रिय सञ्चार सूचना प्रविधि दिवस २०८२ को अवसरमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
उक्त कार्यक्रम रोयल कटेज मा सम्पन्न भएको थियो, जसमा सूचना प्रविधि (आईटी) क्षेत्रका विज्ञहरूसँग साइबर सुरक्षा, डिजिटल साक्षरता र युवाको भूमिकाबारे गहन छलफल गरिएको थियो। कार्यक्रममा शुभकामना आदान–प्रदानको साथै साइबर सुरक्षालाई समाजको अपरिहार्य आवश्यकता मान्दै सचेतनामूलक अभियानलाई थप सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै क्यान महासंघ नवलपरासी (पश्चिम) का अध्यक्ष गणेश प्रसाद न्यौपानेले भन्नुभयो:
“साइबर अपराधको जोखिम बढ्दो क्रममा रहेको अहिलेको अवस्थामा युवाहरूमाझ साइबर सुरक्षाको ज्ञान र चेतना अभिवृद्धि गर्नु अत्यन्त जरुरी छ। क्यान महासंघले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै सूचना प्रविधिको सकारात्मक उपयोग र सुरक्षामा सबैको सहभागिता सुनिश्चित गर्नेछ।”
कार्यक्रममा संघका पदाधिकारी, सूचना प्रविधि व्यवसायी, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।