१८ वैशाख २०८२, मुगु — कर्णाली प्रदेश अन्तर्गत मुगु जिल्लाको विकट क्षेत्र सोरु गाउँपालिकाका दुई वडामा अत्याधुनिक सुविधा सम्पन्न बर्थिङ सेन्टर (प्रसूति गृह) निर्माण भई सञ्चालनमा आएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन्।
सोरु गाउँपालिका–४ लिब्रु र वडा–५ नेर गाउँमा निर्माण गरिएका दुई छुट्टाछुट्टै प्रसूति गृह सोमबार एक औपचारिक कार्यक्रमबीच सम्बन्धित वडालाई हस्तान्तरण गरिएको हो। अब सो क्षेत्रका गर्भवती महिलाहरूलाई सुत्केरीका लागि जोखिमपूर्ण पहाडी यात्रा गर्नुपर्ने बाध्यता अन्त्य भएको छ।
यो परियोजना जर्मनीस्थित Back to Life e.V. को आर्थिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्र (KCDC) को प्राविधिक साझेदारीमा सम्पन्न भएको हो। लिब्रुमा ७२ लाख २१ हजार रुपैयाँको लागतमा २ तले १० कोठे आवासीय पक्की प्रसूति गृह निर्माण गरिएको छ भने, नेरमा ५९ लाख ८२ हजार रुपैयाँ लागतमा १ तले ७ कोठे भवन निर्माण भएको हो।
लामो समयसम्म सुरक्षित मातृत्व सेवा नपाएका स्थानीय महिलाहरू यस कार्यबाट अत्यन्त सन्तुष्ट छन्। लिब्रुकी ६५ वर्षीया अंगसरा शाही भन्छिन्, “हामीले बच्चा गोठमै जन्माएका थियौं, अब छोरी–बुहारीलाई भने यस्तो सास्ती झेल्नु पर्दैन।” स्थानीय हिरामती शाहीले पनि आफूले गोठमै सुत्केरी भएको सम्झदै संस्थाले घरअगाडि नै सुविधा सम्पन्न प्रसूति गृह बनाइदिएपछि अब महिलाहरूलाई सजिलो हुने बताइन्।
सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाही ले ‘एक वडा एक बर्थिङ सेन्टर’ भन्ने सरकारी नीति साकार पार्न गाउँपालिकाले पहल गर्दै आएको र विकटताको बाबजुद पनि अब स्वास्थ्य सेवा पहुँचमा आइपुगेको बताए।
KCDC का सल्लाहकार हरिजंग शाही ले समुदायको मागलाई प्राथमिकतामा राख्दै प्रसूति गृह निर्माण गरिएको र आगामी दिनमा पनि यस्तै rural भेगका आवश्यकता अनुसार काम गर्ने प्रतिवद्धता जनाए।
हस्तान्तरण समारोहमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, KCDC का पदाधिकारी, अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।