बर्दघाट (नवलपरासी) –पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले खजुरी खोलाबाट अवैध रूपमा चोरी गरी विभिन्न स्थानमा डम्पिङ गरिएको नदीजन्य पदार्थ (बालुवा र मिक्सकट) जफत गरेको छ।
नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरका कर्मचारीहरूको टोलीले बुधवार बिहान खजुरी खोलाबाट चोरी गरी राखिएको नदीजन्य पदार्थ अनुगमन तथा नापजाँच गरेको हो।
नगरपालिकाका सब-इञ्जिनियर मनोज श्रेष्ठका अनुसार अनुगमन टोलीले विभिन्न स्थानमा स्टक गरिएका बालुवा र मिक्सकट जफत गरेको छ। जफत गरिएका सामग्री यसप्रकार छन्:
सिंह इन्टरप्राइजेज — ८४ टेक्टर
लालचन्द्र सप्लायर्स — ७ टेक्टर
खत्री सप्लायर्स — २४ टेक्टर
इमान्दार ब्लक उद्योग — १८ टेक्टर
खजुरी खोला किनारमा वेवारिसे — १० टेक्टर
सी हाडवेयर — ४ टेक्टर
कुल १४७ टेक्टर बालुवा र मिक्सकट अनुगमन तथा नापजाँच गरिएको छ।
नगरपालिकाको टोली अनुगमनमा पुगेका वेला केही व्यक्तिहरू JCB को नम्बर प्लेट हटाएर टेक्टरमा माटो लोड गर्दै अन्यत्र लैजाँदै गर्दा भेटिएका थिए। सो क्रममा एक वटा टेक्टर र एक JCB समेत नगर प्रहरीले नियन्त्रणमा लिएको छ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले खजुरी खोलाबाट नदीजन्य वस्तुको निकासीमा रोक लगाइएको अवस्थामा चोरी निकासी बढेपछि नगरपालिका सक्रिय भएको बताए। अवैध रुपमा डम्पिङ गरिएको बालुवा तथा मिक्सकट नियन्त्रण गरी नगरपालिकाको परिसरमा राखिएको छ भने बाँकी ल्याउने तयारी भइरहेको जानकारी दिए।
नगर उप-प्रमुख रुद्र प्रकाश उपाध्यायले जफत गरिएका सामग्रीलाई नगरपालिका कार्यालय नजिकै एकै ठाउँमा संकलन गरेर कानुनी प्रक्रिया अनुसार कारवाही अघि बढाइने बताएका छन्।
डम्पिङ गरिएको अवैध नदीजन्य सामग्रीमध्ये केही नगर परिसरमा संकलन भइसकेका छन्, बाँकी सामग्री ल्याउने तयारी भइरहेको छ।