महानगरले पुस २४ गतेदेखि ‘सुत्केरी पोषण झोला कार्यविधि’ लागू गरेको छ

भरतपुर महानगरद्वारा ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु


भरतपुर महानगरद्वारा ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु

भरतपुर,चितवन — आमा र नवजात शिशुको पोषण सुदृढ बनाउने उद्देश्यले भरतपुर महानगरपालिकाले ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु गरेको छ। आइतबार वडा नं १७ स्थित गुञ्जनगर स्वास्थ्य चौकीबाट महानगर प्रमुख रेनु दाहालले पोषण आहारसहितको झोला वितरण गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभयो।

कार्यक्रममा २२ जना सुत्केरी आमालाई पोषण झोला प्रदान गरिएको थियो। भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीका अनुसार महानगरका सरकारी स्वास्थ्य संस्थामा शिशु जन्माएका आमालाई यो पोषण झोला प्रदान गरिनेछ।

महानगरले पुस २४ गतेदेखि ‘सुत्केरी पोषण झोला कार्यविधि’ लागू गरेको छ। सो मितिपछि जन्म दिने आमाहरूलाई पोषण झोला वितरण गरिनेछ। झोलामा घ्यू, चना, केराउ, अण्डा, आयोडिनयुक्त नुन, दूध बर्दक चुर्ण, र मालिस तेल समावेश गरिएको छ।

महानगर प्रमुख दाहालले भन्नुभयो, “यो कार्यक्रमले आमा र बच्चाको पोषण सुदृढ बनाउन मद्दत गर्छ र स्वास्थ्य संस्थामार्फत सुरक्षित प्रसूति सेवा लिन प्रोत्साहित गर्छ।” उहाँले महानगरपालिकाले गाउँ-गाउँमा स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित हाल ४२ वटा स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको जानकारी पनि दिनुभयो।

कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरवासीलाई कुनै पनि स्वास्थ्य सेवाबाट बञ्चित हुन नदिन यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

साथै, शाखा प्रमुख सुवेदीले बच्चा जन्माएर घर फर्कने क्रममा सुत्केरी आमालाई न्यानो झोलासहित पोषण झोला पनि प्रदान गरिने जानकारी दिनुभयो। कार्यविधिअनुसार बच्चा जन्मेको ४५ दिनभित्र जन्मदर्ता गरी बर्थिङ सेन्टरमा निवेदन दिनुपर्नेछ।

महानगरद्वारा सञ्चालित पाँचवटा बर्थिङ सेन्टरमा अब भिडियो एक्सरेसहित सेवा विस्तार गर्ने तयारी भइरहेको समेत जानकारी दिइयो। यी सेन्टरहरूबाट वार्षिक करिब २०० जना आमाले शिशु जन्माउने गरेको छ।

कार्यक्रममा वडा नम्बर १७ का अध्यक्ष ललितमान तामाङ र स्वास्थ्य विज्ञ डा. भोजराज अधिकारीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।

लेखकको बारेमा

  • उहाँ गणेश पाण्डे ‘सिसम’ Lalmohor.com का सह-सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल