सुनवल (नवलपरासी)– नवलपरासीस्थित सुनवल नगरपालिकाले नगरबासीहरूको अत्यावश्यक मागको अवहेलना गर्दै एकैपटक दुई वटा स्कार्पियो गाडी खरिद गरेपछि तीव्र आलोचना खेप्न बाध्य भएको छ।
नगरपालिकाले कूल १ करोड २२ लाख रुपैयाँ खर्च गरी दुई वटा स्कार्पियो किनेसँगै नगरबासीहरू आक्रोशित भएका छन्। स्थानीयहरूका अनुसार विगतमा आगलागीका बेलामा दमकल अभावले ठूलो समस्या भोग्नुपरेको थियो।
गत वर्ष मात्र सुनवल–१२ भुमहीमा रहेको टायर गोदाममा भीषण आगलागी हुँदा सुनवलसँग आफ्नै दमकल नभएकाले बर्दघाट, रामग्राम र रुपन्देहीबाट सहायता लिनुपरेको थियो। त्यसपछि नगर प्रमुख विमला अर्यालसहितका जनप्रतिनिधिहरूले आगलागी स्थलको निरीक्षण गर्दै दमकल आवश्यक रहेको स्वीकारेका थिए।
नगरवासीहरूले पटक–पटक सामाजिक सञ्जालमार्फत दमकलको माग गर्दा नगर प्रमुखले दमकल छिट्टै ल्याउने आश्वासनसमेत दिएका थिए। तर आश्वासन विपरित, प्राथमिकताको सूचीमा नराखी दुई वटा स्कार्पियो गाडी खरिद गरिएकोमा नागरिकहरू आक्रोशित छन्।
स्थानिय व्यवसायी बासुदेव पौडेल ले भने “अब गाडीमा खर्च गरिएको रकमअनुसारको परिणाम देखिनु पर्छ। नगरपालिकाले दमकल समेत छिटो ल्याएर जनताको आवश्यकता पुरा गर्नुपर्ने हो। यो काम यथाशीघ्र लागू गर्नु पर्छ ताकि जनता नगरपालिकाको वास्तविक कार्यक्षमता महशुस गर्न सकून्।” यस्तै अर्का स्थानीय व्यवसायी अर्जुन शर्माका अनुसार गाडीभन्दा एम्बुलेन्स वा दमकल जस्ता अत्यावश्यक सेवा साधन खरिद गरिएको भए सम्पूर्ण नगरबासीलाई प्रत्यक्ष लाभ पुग्ने भन्दै सचेत गराएका थिए ।
नगर प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार नगर सभाबाट सवारीसाधन खरिदका लागि छुट्याइएको बजेटअनुसार गाडी खरिद गरिएको हो।
तर यतिबेला सुनवल नगरपालिकाले बजेट अभाव देखाउँदै खानेपानी आयोजना, विद्यालय भवन निर्माणजस्ता आधारभूत योजना लागत साझेदारीमार्फत कार्यान्वयन गर्दै आएको छ। अर्कोतर्फ, सेवापरामर्श गोष्ठी, तालिम तथा विभिन्न कार्यक्रममा भने लाखौँ खर्च भइरहेको छ।
यसले नगरपालिकाको प्राथमिकता र जनचासोबीच गहिरो दूरी रहेको स्पष्ट देखिएको छ।